आधुनिक सुविधासहित कैलालीको गोदावरी आर्यघाट सञ्चालनमा, सुख्खा मौसममा पनि दाहसंस्कार सहज हुने

Image
Nisarga Hospital

अत्तरियाः  कैलालीको गोदावरी नगरपालिका मा निर्माण सम्पन्न आधुनिक आर्यघाट आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। गोदावरी नदीमा पानी अभाव हुँदा वर्षौंदेखि हुँदै आएको शव दाहसंस्कारको समस्या समाधान गर्ने उद्देश्यले निर्माण गरिएको यस आर्यघाटको नगर प्रमुख बिरेन्द्र भट्ट ले रिबन काटेर उद्घाटन गरेका हुन्।

CP Hospital Dhangadhi

nawajiwan

नयाँ आर्यघाटमा अत्याधुनिक अटोमेटिक फ्लसिङ प्रणाली जडान गरिएको छ, जसले दाहसंस्कार प्रक्रियालाई थप व्यवस्थित र स्वच्छ बनाउने विश्वास लिइएको छ। आर्यघाटमा एकैपटक सञ्चालन गर्न मिल्ने गरी ७ वटा शव दाहसंस्कार स्थल निर्माण गरिएका छन्। साथै, ३ लाख लिटर क्षमताको ठूलो पानी ट्याङ्की पनि तयार गरिएको छ, जसले सुख्खा मौसममा समेत आवश्यक पानीको आपूर्ति सुनिश्चित गर्नेछ।

यो परियोजना नेपाल सरकारको पर्यटन मन्त्रालयमार्फत २ करोड १० लाख रुपैयाँको लागतमा निर्माण गरिएको हो भने प्रदेश सरकारबाट थप १ करोड रुपैयाँ विनियोजन गरिएको थियो। निर्माण कार्य जगदम्बा भवानी जेभीसँगको ठेक्का सम्झौतामार्फत सम्पन्न गरिएको हो।

Attariya Hospital

आर्यघाटको विशेषता भनेको यसको अटोमेटिक फ्लसिङ प्रणाली हो। ट्याङ्कीमा सङ्कलित पानी पाइपमार्फत सिधै दाहसंस्कार स्थलसम्म पुर्‍याइनेछ। दाहसंस्कारपछि निस्किने फोहोरसमेत सोही प्रणालीमार्फत सफा गरी नजिकैको खोलामा व्यवस्थापन गरिने व्यवस्था मिलाइएको छ, जसले वातावरणीय सरसफाइमा समेत सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

हाल गोदावरी नदी किनारमा अवस्थित यस आर्यघाटमा गोदावरी नगरपालिका सहित आसपासका ६ स्थानीय तहबाट शव दाहसंस्कारका लागि ल्याइने गरिन्छ। तर, सुख्खा मौसममा नदीमा पानी नहुँदा परम्परागत दाहसंस्कार गर्न कठिनाइ हुँदै आएको थियो।

oplus_0

नगर प्रमुख भट्टले आधुनिक आर्यघाट सञ्चालनमा आएसँगै अब स्थानीयले वर्षभरि सहज रूपमा दाहसंस्कार सेवा पाउने बताए। उनले भने, “गोदावरी नदीमा पानी नहुँदा धेरै समयसम्म समस्या भोग्नुपरेको थियो। अहिले अटोमेटिक फ्लसिङ प्रणालीसहितको आर्यघाट बनेपछि जुनसुकै मौसममा पनि दाहसंस्कार सहज हुनेछ। यसले वातावरणीय सरसफाइमा समेत ठूलो सहयोग पुग्नेछ।”

oplus_0

यसअघि नै आर्यघाट परिसरमा कालोपत्रे सडक, प्रतिक्षालय तथा ४ कोठे क्रियापुत्रीघर निर्माण भइसकेको छ। नयाँ संरचनासँगै अब गोदावरी क्षेत्रमा दाहसंस्कार सेवा थप व्यवस्थित, सहज र वातावरणमैत्री बन्ने अपेक्षा गरिएको छ।