
सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नाजिर मियाँ ले “नेपालमा सम्भावना छैन” भन्ने धारणा गलत रूपमा फैलाइएको भन्दै चिन्ता व्यक्त गरेका छन्। धनगढीमा आयोजित नेपाल वितरक महासंघ को १४औँ साधारणसभामा बोल्दै उनले प्राकृतिक, आर्थिक र मानवीय स्रोतले समृद्ध देशलाई सम्भावनाहीन भन्नु दुर्भाग्यपूर्ण भएको बताए।

उनले विगतमा भारतसँग तुलना गरेर निराशा फैलाउने प्रवृत्ति अहिले जापान, अमेरिका र अष्ट्रेलियासँग तुलना गर्दै दोहोरिएको उल्लेख गरे। “नेपालले विकासको गति समातेको धेरै समय भएको छैन, छोटो अवधिमै उल्लेखनीय उपलब्धि हासिल भएका छन्,” उनले भने, “तर भएका कामभन्दा नभएका कामको चर्चा बढी भइरहेको छ।”
प्रदेश प्रमुख मियाँले स्वदेशमै अवसर सिर्जना गर्न सकिने भन्दै युवालाई देशभित्रै लगानी र रोजगारी खोज्न आग्रह गरे। कक्षा १२ पछि विदेशिने बढ्दो प्रवृत्तिप्रति चिन्ता व्यक्त गर्दै उनले दीर्घकालीन विकासमा यसको नकारात्मक असर पर्ने बताए।


उनले सुदूरपश्चिम प्रदेशलाई सम्भावनाको खानीका रूपमा चित्रण गर्दै वन, कृषि र पर्यटन क्षेत्रमा लगानी बढाउनुपर्ने धारणा राखे। कार्यक्रममा आर्थिक मामिला राज्यमन्त्री प्रकाश बम ले पर्याप्त बजेट अभावका कारण प्रदेश विकास अपेक्षाअनुसार हुन नसकेको बताए।
धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल ले निजी क्षेत्र र स्थानीय सरकारबीच सहकार्य आवश्यक रहेको उल्लेख गरे। कार्यक्रममा व्यवसायीहरूको सहभागितासँगै लगानी, व्यापार र बजार व्यवस्थापनबारे छलफल गरिएको थियो।






























