
अत्तरियाः जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढीले नयाँ शैक्षिकसत्र २०८३ का लागि सुदूरपश्चिम प्रदेशमा ठूलो मात्रामा पाठ्यपुस्तक वितरण गरेको छ। यस अवधिमा कुल १३ लाख ३९ हजार ३९८ थान पुस्तक बिक्री वितरण भई करिब १८ करोड ३१ लाख ८९ हजार ४९४ रुपैयाँ बराबरको कारोबार भएको छ।

प्रादेशिक कार्यालय प्रमुख निर्मलकुमार यादवका अनुसार पहाडी जिल्लामा करिब ८५ प्रतिशत तथा कैलाली र कञ्चनपुरमा करिब ७० प्रतिशत पुस्तक पुगिसकेको छ। उनले वैशाख १५ भित्र सबै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्ने दाबी गरेका छन्।
कार्यालयले यस वर्ष प्रदेशभर करिब १७ लाख पाठ्यपुस्तक वितरण गर्ने लक्ष्य लिएको छ। गत चैत १६ गतेदेखि वितरण सुरु गरिएको हो भने सबैभन्दा पहिले दुर्गम जिल्ला बाजुरा र दार्चुलामा ढुवानी गरिएको थियो।


गत शैक्षिकसत्र २०८२ मा भने १६ लाख २९ हजार ३६३ थान पुस्तक बिक्री भई २१ करोड ९३ लाखभन्दा बढी कारोबार भएको कार्यालयले जनाएको छ। यस वर्ष वितरण कार्य अझ व्यवस्थित र छिटो भएको बताइएको छ।
सुदूरपश्चिमका सबै जिल्लामा समयमै पाठ्यपुस्तक पुर्याउने लक्ष्यसहित वितरण कार्य अन्तिम चरणमा पुगेको केन्द्रले जनाएको छ।






























