कैलालीमा गहुँ खरिद सुरु, किसानलाई प्रोत्साहन गर्न समर्थन मूल्यभन्दा बढी दर

Image
Nisarga Hospital

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, प्रादेशिक कार्यालय धनगढीले कैलालीमा गहुँ खरिद सुरु गरेको छ। मंगलबारदेखि जिल्लाका मोहनपुर र टीकापुर गोदाममार्फत किसान तथा कृषि सहकारीबाट गहुँ खरिद प्रक्रिया सुरु गरिएको कार्यालयले जनाएको छ।

CP Hospital Dhangadhi

कम्पनीले सरकारले निर्धारण गरेको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल रु. ३,९४५ भन्दा बढी दरमा खरिद गर्ने निर्णय गरेको छ। कार्यालय प्रमुख दीपक थापाका अनुसार किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतिक्विन्टल रु. ४,२५० मा गहुँ खरिद गरिनेछ।

यस वर्ष जिल्लामा १० हजार क्विन्टल गहुँ खरिद कोटा निर्धारण गरिएको छ। एक किसानबाट अधिकतम ७० क्विन्टल र सहकारी संस्थाबाट ५०० क्विन्टलसम्म खरिद गरिने व्यवस्था गरिएको छ। स्थानीय तहले गोदाम उपलब्ध गराए अन्य स्थानबाट पनि खरिद विस्तार गरिने कम्पनीले जनाएको छ।

nawajiwan
Attariya Hospital

गहुँ बिक्रीका लागि किसानले परिचयपत्र, वडाको सिफारिस वा किसान प्रमाणपत्र तथा स्वघोषणापत्र अनिवार्य पेस गर्नुपर्नेछ। रकम भने बैंक खातामार्फत अनलाइन भुक्तानी गरिने व्यवस्था गरिएको छ।

गत वर्ष पाँच हजार क्विन्टल कोटा भए पनि जम्मा ५२.५ क्विन्टल मात्र खरिद भएको थियो। यस वर्ष लक्ष्य पूरा गर्ने अपेक्षा गरिएको छ।