कैलालीको बुढीतोलामा आजदेखि पर्यटन महोत्सव लाग्दै, संस्कृति र प्राकृतिक सौन्दर्यको संगम

Image
Nisarga Hospital

अत्तरियाः कैलालीको क्षेत्रको बुढीतोलामा पर्यटन प्रवर्द्धन तथा स्थानीय आर्थिक गतिविधि विस्तार गर्ने उद्देश्यसहित बिहीबारदेखि “पर्यटन मेला तथा महोत्सव” सुरु भएको छ। नगर प्रमुख विरेन्द्र भट्टले महोत्सवको औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको छ। सात दिनसम्म सञ्चालन हुने यो महोत्सव बुढीतोला क्षेत्र पर्यटन प्रवर्द्धन तथा बजार व्यवस्थापन समितिको आयोजनामा बैशाख २३ गतेसम्म चल्नेछ।

CP Hospital Dhangadhi

आयोजकका अनुसार महोत्सव पूर्ण रूपमा गैर–नाफामुखी रूपमा सञ्चालन गरिएको हो। बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत सम्पूर्ण तयारी पूरा भएको जानकारी दिइएको छ। महोत्सव समितिका संयोजक हरिदत्त भट्टराईले बुढीतोलाको पर्यटन सम्भावनालाई उजागर गर्दै स्थानीय उत्पादन, कला, संस्कृति र व्यवसायलाई प्रवर्द्धन गर्ने मुख्य उद्देश्य रहेको बताए।

nawajiwan

महोत्सवको उद्घाटन अवसरमा प्रभातफेरी कार्यक्रम आयोजना गरिनेछ, जसमा विभिन्न विद्यालय, समूह तथा सांस्कृतिक झाँकीहरूले स्थानीय भेषभूषा र परम्परा प्रस्तुत गर्नेछन्। यसले क्षेत्रको सांस्कृतिक पहिचानलाई उजागर गर्ने अपेक्षा गरिएको छ।

Attariya Hospital

आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न महोत्सवमा स्थानीय उत्पादन, पहाडी क्षेत्रको प्राकृतिक सौन्दर्य र सांस्कृतिक झलक प्रस्तुत गरिनेछ। विशेषगरी गोदावरी धाम हुँदै सहस्त्रधारा जाने पदमार्ग बुढीतोलाबाटै जोडिने भएकाले यस क्षेत्रको प्रचार–प्रसारमा महोत्सवले महत्वपूर्ण टेवा पुर्‍याउने विश्वास गरिएको छ।

त्यसैगरी, चुरे क्षेत्रको उच्च स्थानमध्ये एक कम्पासे धुराको प्रवर्द्धनका लागि पनि महोत्सव अवसर बन्ने आयोजकको भनाइ छ। महोत्सवमा स्थानीयदेखि राष्ट्रियस्तरका कलाकारहरूको सांगीतिक प्रस्तुति रहनेछ भने करिब ६० भन्दा बढी स्टलमार्फत व्यवसाय, शिक्षा तथा सीप विकाससम्बन्धी सामग्री प्रदर्शन गरिनेछ।

टिकट शुल्क सर्वसाधारणका लागि १०० रुपैयाँ र विद्यार्थीका लागि ५० रुपैयाँ तोकिएको छ भने अशक्त, अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ। आयोजकले महोत्सवले पर्यटन वृद्धि, लगानी आकर्षण र क्षेत्रीय विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

धार्मिक दृष्टिकोणले समेत महत्त्वपूर्ण मानिने बुढीतोला क्षेत्र गोदावरी धामको उद्गम स्थलका रूपमा परिचित छ। यस महोत्सवमार्फत स्थानीय कला, संस्कृति र परम्परागत भेषभूषाको संरक्षण तथा प्रवर्द्धन हुँदै समग्र क्षेत्रको विकासमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।