
अत्तरिया : अत्तरियामा सक्रिय सृजनशील युवा क्लबले क्षेत्रीय विकासका विविध माग अघि सार्दै प्रतिनिधिसभा सदस्य खेमराज कोइरालालाई ज्ञापनपत्र बुझाएको छ।

क्लबले विशेष गरी व्यवस्थित खुला मञ्च र खेलमैदानको अभावलाई स्थानीय स्तरको प्रमुख समस्याका रूपमा औंल्याउँदै तत्काल यसको निर्माणका लागि आवश्यक पहल गर्न आग्रह गरेको छ।
क्लबका अध्यक्ष नरबहादुर राईका अनुसार स्थापना कालदेखि नै क्लबले युवामुखी र सामाजिक गतिविधिहरू सञ्चालन गर्दै आएको छ। उनले युवाहरूलाई खेलकुदतर्फ आकर्षित गर्न खेलमैदानको अभावले ठूलो बाधा पुर्याइरहेको बताए।


राईले खुला मञ्चसहितको खेलमैदान निर्माणका लागि उपयुक्त स्थानसमेत क्लबले पहिचान गरिसकेको उल्लेख गर्दै कार्यान्वयनका लागि सम्बन्धित निकायको सक्रियता आवश्यक रहेको बताए।
त्यसैगरी, सीमावर्ती क्षेत्र भएकाले यहाँका युवाहरू लागूऔषध दुर्व्यसनतर्फ आकर्षित हुने जोखिम उच्च रहेको उनले औंल्याए। यस समस्याको नियन्त्रण तथा न्यूनीकरणका लागि राज्यले गम्भीर र प्रभावकारी पहल गर्नुपर्नेमा उनले जोड दिए।
क्लबले समग्र क्षेत्रको दिगो विकासका लागि सकारात्मक कदम चालिने अपेक्षा व्यक्त गर्दै ज्ञापनपत्रमार्फत सरकारको ध्यानाकर्षण गराएको छ।































