
कैलाली क्षेत्र नम्बर–४ का संघीय सांसद खेमराज कोइराला र गोदावरी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र भट्टबीच स्थानीय विकास र सार्वजनिक समस्याबारे विस्तृत छलफल भएको छ।

शनिबार गोदावरी नगरपालिका कार्यालयमा भएको छलफलमा अत्तरिया बसपार्कको व्यवस्थापन, चौकिडाँडा–फल्टुडे सडक निर्माण तथा विस्तार, साथै नेपाली सेनाको नाममा रहेको जमिनमा बसोबास गर्दै आएका ६१ घरधुरीको समस्या समाधानका विषयमा विशेष ध्यान दिइएको थियो।
छलफलका क्रममा सांसद कोइरालाले स्थानीय समस्याको समाधानका लागि संघीय सरकार तहमा आवश्यक सहजीकरण गर्न आफू सधैं तयार रहेको प्रतिबद्धता जनाए। उनले जनताको समस्या समाधानका लागि सबै तहबीच समन्वय आवश्यक रहेको पनि बताए।


त्यसैगरी, चौकिडाँडा–फल्टुडे सडकको विकास तथा व्यवस्थापनका विषयमा वडा नम्बर १०, ११ र १२ का वडा अध्यक्षहरूसँग समेत छलफल गरिएको जानकारी दिइएको छ। उक्त सडकलाई दीर्घकालीन योजनाअनुसार स्तरोन्नति गर्ने विषयमा पनि प्रारम्भिक समझदारी बनेको बताइएको छ।
नगर प्रमुख वीरेन्द्र भट्टले नगर क्षेत्रका विकास आयोजनालाई प्रभावकारी बनाउन संघीय तथा स्थानीय तहबीचको सहकार्यलाई अझ सुदृढ बनाइने बताए। स्थानीयवासीका दीर्घकालीन समस्या समाधानतर्फ यो छलफल सकारात्मक कदमका रूपमा हेरिएको छ।































