
अभिनेता तथा निर्माता विराज भट्टले आफ्नो होमप्रोडक्सन फिल्म ‘१२ गाउँ २’ को छायांकन सुरु गरेका छन्। बुधबार ललितपुरको च्यासलस्थित राजु पेन्टरको स्टुडियोमा शुभसाइत पूजा गर्दै फिल्मको औपचारिक छायांकन प्रारम्भ गरिएको हो। करिब ६० दिनसम्म चल्ने सुटिङ काठमाडौं उपत्यकासहित पूर्वी नेपालका विभिन्न स्थानमा हुने जनाइएको छ।

फिल्ममा विराज भट्टसँगै समीर भट्ट, अनुपविक्रम शाही, काफिया शाही र प्रकाश शाहलगायत कलाकारको अभिनय रहनेछ। समीर भट्ट र काफिया शाहीलाई अनस्क्रिन जोडीका रूपमा प्रस्तुत गरिनेछ भने अनुपविक्रम शाही खलपात्रको भूमिकामा देखिनेछन्। पहिलो दिन नै गीत छायांकन गर्दै निर्माण टोलीले काम अघि बढाएको छ, जसमा मुख्य जोडी समीर र काफिया प्रस्तुत भएका छन्।

च्यासल स्टुडियोमा करिब ३० लाख रुपैयाँ लागतमा दुईवटा भव्य सेट निर्माण गरिएको निर्माण पक्षले जनाएको छ। दशैंको अवसर पारेर प्रदर्शन गर्ने लक्ष्यसहित तयार पारिएको फिल्मलाई काठमाडौं उपत्यकामा गोविन्द शाही र मोफसल क्षेत्रमा कुवेर डिष्ट्रिब्यूसनले वितरण गर्नेछन्। निर्माण नियन्त्रकका रूपमा आरजे प्रणव सुवेदी रहेका छन्।































