
कैलालीको गोदावरी नगरपालिका मा बहु–प्रकोप सम्बन्धी कृत्रिम घटना नमूना अभ्यास सम्पन्न गरिएको छ। नगरपालिकाको विपद् व्यवस्थापन शाखाको समन्वयमा आयोजना गरिएको उक्त अभ्यासमा विपद् न्यूनीकरण, उद्धार क्षमता अभिवृद्धि तथा जनचेतना फैलाउने उद्देश्य राखिएको थियो।

कार्यक्रमअन्तर्गत भूकम्प, आगलागी, बाढीपहिरो लगायतका सम्भावित विपद्का घटनालाई आधार बनाएर प्रयोगात्मक अभ्यास गरिएको थियो। विपद् जुनसुकै बेला आउन सक्ने भएकाले त्यसबाट जोगिन आवश्यक सुरक्षा सतर्कता, तत्काल उद्धार तथा प्राथमिक उपचारका उपायबारे सहभागीलाई व्यवहारिक जानकारी गराइएको थियो।

&

कृत्रिम अभ्यासका क्रममा कार्यालयमा उपस्थित सेवाग्राही, सर्वसाधारण, विद्यार्थी तथा सरोकारवाला निकायलाई आकस्मिक अवस्थासँग कसरी सामना गर्ने भन्नेबारे प्रत्यक्ष प्रदर्शन गरिएको थियो। आगलागी भएको अवस्था, घाइतेको उद्धार, प्राथमिक उपचार तथा सुरक्षित स्थानमा स्थानान्तरण गर्ने प्रक्रिया अभ्यासमार्फत देखाइएको थियो।
कार्यक्रममा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल तथा नेपाल रेडक्रस सोसाइटी लगायतका सुरक्षा तथा मानवीय संस्थाहरूको सक्रिय सहभागिता रहेको थियो। जिल्लास्थित सरकारी कार्यालय, विभिन्न संघसंस्था, विद्यार्थी तथा स्थानीय नागरिकहरूको उल्लेख्य उपस्थिति रहेको अभ्यासले विपद् प्रतिकार्यमा समन्वय र तयारीको महत्त्व उजागर गरेको सहभागीहरूले बताएका छन्।
अभ्यासका क्रममा सहभागी टोलीहरूले विपद् लगत्तै खोज तथा उद्धार कार्य कसरी सञ्चालन गर्ने, घाइतेलाई तत्काल उपचारका लागि कसरी सुरक्षित स्थानमा पुर्याउने र राहत वितरण प्रक्रिया कसरी अघि बढाउने भन्नेबारे प्रदर्शन गरेका थिए।
नगरपालिकाले यस्ता अभ्यासले समुदायमा विपद् सम्बन्धी सचेतना बढ्नुका साथै वास्तविक घटनाको समयमा क्षति न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ। स्थानीय तह, सुरक्षा निकाय र समुदायबीचको सहकार्यले विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।






























