
कैलालीको अत्तरियामा रहेको अत्तरिया साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निर्वाचन सम्पन्न भएको छ। ५ हजार ७४२ उपभोक्ता रहेको संस्थामा भएको निर्वाचनमा २ हजार ७७५ जनाले मतदान गरेका छन्, जुन करिब ४८ प्रतिशत मतदाता सहभागिता हो।

संस्थाको नयाँ ११ सदस्यीय कार्यसमिति चयनका लागि प्रतिस्पर्धा भएको हो। अध्यक्ष पदमा हर्क बहादुर शाह, राजेन्द्र खड्का र गणेश शाह नेतृत्वका प्यानलहरू चुनावी मैदानमा उत्रिएका थिए। उपाध्यक्ष, महासचिव र कोषाध्यक्ष पदमा ४/४ जना उम्मेदवार रहेका छन् भने सचिव पदका लागि ३ जनाबीच प्रतिस्पर्धा भएको छ।

त्यसैगरी २ पुरुष सदस्यका लागि ७ जना र ४ महिला सदस्यका लागि १३ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन्। कुल ३८ जना उम्मेदवारले विभिन्न पदका लागि प्रतिस्पर्धा गरेका हुन्।

निर्वाचन सम्पन्न भए पनि मतगणना कहिले र कसरी गर्ने भन्ने विषयमा हाल सरोकारवालाबीच छलफल जारी रहेको छ। संस्थामा नयाँ नेतृत्व चयनपछि खानेपानी सेवा व्यवस्थापन अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ।































