
अत्तरियाः कैलालीको अत्तरिया स्थित अत्तरिया साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका नवनिर्वाचित पदाधिकारीहरूले औपचारिक रूपमा शपथ ग्रहण गरेका छन् । संस्थाको सभाहलमा आयोजित कार्यक्रममा निर्वाचन समितिले नव निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराएको हो ।

शनिबार सम्पन्न निर्वाचनबाट संस्थाको अध्यक्षमा राजेन्द्र बहादुर खड्का निर्वाचित भएका थिए । त्यसैगरी उपाध्यक्षमा लक्ष्मण बहादुर कठायत, महासचिवमा धर्मसिंह कुँवर, कोषाध्यक्षमा भोज बहादुर साउद तथा सचिवमा छविन्द्र नाथ योगी विजयी भएका छन् ।

यस्तै सदस्यहरूमा रमेश कडायत, धर्मराज भट्ट, चन्द्रा कुमारी कठायत, जमुना देवी साउद, खिमा देवी ओझा र राधा विष्ट कुँवर निर्वाचित भएका छन् ।
शपथ ग्रहणपछि बोल्दै नवनिर्वाचित अध्यक्ष राजेन्द्र बहादुर खड्काले संस्थालाई पारदर्शी, व्यवस्थित र उपभोक्तामैत्री ढंगले सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले खानेपानी सेवा सुधार, नियमित वितरण र सरसफाइ व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम गर्ने बताए ।

“उपभोक्ताको विश्वासलाई कायम राख्दै संस्थाको दीर्घकालीन विकासका लागि सबैसँग सहकार्य गरेर अघि बढ्नेछौं,” अध्यक्ष खड्काले भने, “खानेपानी जस्तो आधारभूत आवश्यकतालाई सहज र प्रभावकारी बनाउन नयाँ कार्यसमितिले जिम्मेवार भूमिका निर्वाह गर्नेछ ।”
कार्यक्रममा स्थानीय उपभोक्ता, समाजसेवी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । नयाँ नेतृत्व चयनसँगै संस्थाले आगामी दिनमा खानेपानी व्यवस्थापन र सरसफाइ क्षेत्रमा थप प्रभावकारी काम गर्ने अपेक्षा गरिएको छ ।
तेसै गरी महासचिव धर्मसिंह कुँवरले चुनावका क्रममा जनतासामु गरेका १२ बुँदे प्रतिबद्धता पूर्ण रूपमा कार्यान्वयन गर्दै खानेपानी सेवा सुधारलाई प्राथमिकतामा राखिने बताएका छन् ।































