
नेपाल टेलिकमले अन्तर्राष्ट्रिय बहिर्गमन (आउटगोइङ) कल सेवामा प्रयोग हुने पल्स समयावधिमा परिमार्जन गरेको छ। अब टेलिकमको फोन तथा मोबाइल सेवा प्रयोग गरी विभिन्न देशमा कल गर्दा ६० सेकेन्डको पल्स दर लागू हुने भएको छ।

कम्पनीका अनुसार अन्तर्राष्ट्रिय एक्सेस कोड ००/१४२४/१४२५/१४४५ प्रयोग गरी कल गर्दा यो नयाँ व्यवस्था लागू हुनेछ। दूरसञ्चार ऐन २०५३ को दफा ४२ अनुसार नेपाल दूरसञ्चार प्राधिकरणको २०८२ फागुन १ को निर्णयअनुसार प्राप्त स्वीकृतिपछि ५८ देशमा यो दर लागू गरिएको हो।
नेपाल टेलिकमका सह–प्रवक्ता प्रक्षेत थापा क्षेत्रीका अनुसार नयाँ पल्स दर यही जेठ १ गतेदेखि कार्यान्वयनमा आउनेछ। यससँगै एशिया, अफ्रिका, युरोप तथा अमेरिका क्षेत्रका विभिन्न देशहरूमा कल गर्दा एउटै ६० सेकेन्डको पल्स प्रणाली लागू हुनेछ।


उक्त सूचीमा भारत, चीन, अमेरिका, ब्राजिल, सिंगापुर, साउदी अरेबिया, दक्षिण कोरिया, न्युजिल्यान्ड लगायतका देशहरू रहेका छन्। टेलिकमले प्रयोगकर्तालाई सहज बनाउन विभिन्न एक्सेस कोडमार्फत अन्तर्राष्ट्रिय कल सेवा उपलब्ध गराउँदै आएको छ।
पल्स भनेको टेलिफोन कल गर्दा शुल्क गणना हुने समयावधि हो। पल्स अवधि परिवर्तन हुँदा उपभोक्ताको कल शुल्कमा समेत प्रत्यक्ष प्रभाव पर्ने भएकाले यसलाई महत्वपूर्ण मानिन्छ।






























