
नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले सुदूरपश्चिम प्रदेशस्तरीय भेला गर्ने भएको छ। देउवाको गृहप्रदेशमै आयोजना हुन लागेको उक्त भेला आगामी जेठ १० गते धनगढीमा सम्पन्न हुने तय गरिएको हो।

भेला सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीस्थित सौराई स्क्वायरमा आयोजना गरिने देउवा समूहले तयार पारेको प्रचार सामग्रीमा उल्लेख गरिएको छ। प्रदेशस्तरमा संगठन सुदृढीकरण, समसामयिक राजनीतिक अवस्था र आगामी रणनीतिबारे छलफल हुने बताइएको छ।

यसअघि उक्त समूहले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको गृहजिल्ला सुर्खेतमा कर्णाली प्रदेशस्तरीय दुई दिने विचार गोष्ठी सम्पन्न गरिसकेको थियो। त्यसपछि सुदूरपश्चिममा भेला गर्न लागिएको हो।
































