
धनगढीमा आयोजित नेपाल यातायात स्वतन्त्र मजदुर संगठन ट्यांकर इकाई कमिटीको छैटौं अधिवेशनमा यातायात मजदुरहरूले राज्यले तोकेको न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न र सबै मजदुरलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा अनिवार्य रूपमा आबद्ध गराउन माग गरेका छन्।

कार्यक्रममा सहभागी मजदुर नेताहरूले यातायात क्षेत्रमा कार्यरत श्रमिक अझै असुरक्षित अवस्थामा काम गर्न बाध्य रहेको भन्दै श्रम अधिकार, सुरक्षा र सम्मान सुनिश्चित गर्न सरकार तथा व्यवसायी गम्भीर हुनुपर्ने बताएका छन्।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन सुदूरपश्चिम प्रदेश अध्यक्ष ललित चन्दले सबै मजदुरलाई सामाजिक सुरक्षा कोषमा समेट्नु आवश्यक रहेको उल्लेख गर्दै अझै पनि न्यूनतम पारिश्रमिक, बीमा र सामाजिक सुरक्षाको अभाव रहेको बताए।


जिफन्ट सुदूरपश्चिम अध्यक्ष जित बहादुर मल्लले सबै क्षेत्रका मजदुरलाई कोषमा आबद्ध गर्नुपर्नेमा जोड दिए। ढुवानी व्यवसायी खगेश्वर बोहराले आफ्नै संस्थाबाट आबद्धता सुरु गर्ने प्रतिबद्धता जनाए।
केन्द्रीय अध्यक्ष भीम ज्वाला राईले चालक–सहचालकको अधिकार सुनिश्चित नगरी यातायात क्षेत्र सुधार सम्भव नहुने बताए।































