
शिक्षा र युवा सशक्तीकरणप्रति प्रतिबद्धता जनाउँदै एनसेल फाउन्डेसनले यस वर्ष पनि ‘एनसेल एसईई छात्रवृत्ति’ कार्यक्रम घोषणा गरेको छ। प्रोजेक्ट शिक्षासँगको सहकार्यमा सञ्चालन हुने कार्यक्रमअन्तर्गत देशभरका १०० जना एसईई उत्तीर्ण विद्यार्थीलाई कक्षा ११ र १२ अध्ययनका लागि छात्रवृत्ति प्रदान गरिनेछ।

छात्रवृत्ति सातै प्रदेशमा सञ्चालन हुने लिखित परीक्षा र अन्तर्वार्ताको आधारमा छनोट गरिनेछ। विशेषगरी आर्थिक रूपमा कमजोर तर प्रतिभाशाली विद्यार्थीलाई प्राथमिकतामा राख्दै उच्च शिक्षामा समान पहुँच सुनिश्चित गर्ने लक्ष्य लिइएको छ।
छात्रवृत्तिसँगै छनोट भएका विद्यार्थीले १२ महिनासम्म एनसेलको लिमिटेड डेटा तथा भ्वाइस सेवासहित निःशुल्क सञ्चार सुविधा पनि प्राप्त गर्नेछन्, जसले अध्ययन र अवसरसँग निरन्तर जोडिन सहयोग पुर्याउने अपेक्षा गरिएको छ।


एनसेलकी कर्पोरेट कम्युनिकेसन एन्ड सस्टेनेबिलिटी डाइरेक्टर विशाखा लक्ष्मी खड्काले भौगोलिक अवस्था वा आर्थिक कमजोरीले युवाको भविष्य निर्धारण गर्न नहुने बताउँदै कार्यक्रमले अवसरविहीन तर सक्षम विद्यार्थीलाई अघि बढाउने विश्वास व्यक्त गरिन्।
यसैबीच, हन्ड्रेड ग्रुपद्वारा सञ्चालित प्रोजेक्ट शिक्षाले थप ५० जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने जनाएको छ। सन् २०१७ देखि सञ्चालनमा रहेको यो पहलले देशभरका विद्यार्थीलाई शैक्षिक अवसर सिर्जना गर्दै आएको छ।































