सातवटै प्रदेशका सरकार फेर्ने कसरतमा कांग्रेस–एमाले, सुदूरपश्चिममा शाह गए भट्ट आउने

Image
Nisarga Hospital

अत्तरिया : बजेट निर्माणमा लाग्नुपर्ने बेला सातै प्रदेशमा सरकार हेरफेर गर्ने गरी कांग्रेस एमाले गठबन्धनले तयारी गरिरहेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले हिजोको सचिवालय बैठकमा पनि यस विषयमा नेताहरूलाई जानकारी गराएका थिए ।

CP Hospital Dhangadhi

‘हिजोको सचिवालय बैठकमा पनि अध्यक्ष कमरेडले अन्य दलसँग भइरहेको छलफलहरूबारे जानकारी गराउनु भएको थियो । आज कांग्रेससँग यस विषयमा निर्णायक संवाद गर्ने तयारी छ,’ एमाले उच्च स्रोतले भन्यो, ‘कांग्रेससँगको संवादपछि सातै प्रदेशको सरकार हेरफेर हुन सक्छ ।’

एमालेका एक पदाधिकारीका अनुसार अहिले पार्टीभित्र पनि सरकार परिवर्तनको गहन बहस सुरू भइरहेको छ । तर, बजेट तयार गरेर परिवर्तन गर्ने वा त्योभन्दा पहिल्यै गर्ने भन्ने विषयमा ठोस निष्कर्ष आइसकेको छैन । कांग्रेस सभापति गगन थापासँगको संवादपछि यो विषयको पनि टुंगो लाग्ने छ ।

nawajiwan

अहिले सात प्रदेशमध्ये कांग्रेसले ४ र एमालेले ३ प्रदेशको नेतृत्व गरिरहेको छ । नयाँ समीकरण बन्ने अवस्थामा पनि चार प्रदेशको नेतृत्व गर्नुपर्ने कांग्रेसको माग छ । नेकपाले पनि सुदूरपश्चिम प्रदेशको नेतृत्वसहित तीनदलीय सरकार बनाउन सकिने जनाइसकेको छ । एमालेले पनि तीनै दलसँग सहकार्यको बाटो खुला गरेको बताएको छ । तर, तीन दलको विषयमा कांग्रेसले भने ठोस निर्णय सुनाइसकेको छैन ।

‘सडक, सरकार र सदनमा सँगै’ भन्दै नेकपाले पनि सरकारमा सहकार्यको प्रस्ताव अघि बढाइसकेको छ । सबैभन्दा ठूलो दल सुदूरपश्चिम प्रदेशमा रहेको भन्दै नेकपाले त्यहाँ मुख्यमन्त्रीको दाबी गरेको छ । कांग्रेसको माग ४ प्रदेशको नेतृत्व हो,’ एमाले उच्च स्रोतले भन्यो, ‘अब अध्यक्ष कमरेडले कांग्रेससँगको छलफलपछि यो विषयमा टुंगो लगाउनु हुन्छ ।’

कांग्रेससँग बसेर टुंगो लागेपछि मात्रै नेपालाई सहभागी गराउने वा नगराउने भन्ने विषय टुंगो लाग्ने अर्का एक पदाधिकारीले बताए । ‘पहिले कांग्रेससँग बसेर नेकपालाई पनि सँगै लिएर जाने भन्ने विषयमा टुंगो लागेपछि मात्रै नेकपाको सहयात्रा तय हुन्छ,’ ती पदाधिकारीले भने ।

Attariya Hospital

कांग्रेस-एमाले सहकार्य सुरु हुँदा कांग्रेसका सभापति शेरबहादुर देउवा थिए । त्यो बेला सुदूरपश्चिम र कोशी प्रदेश सरकारलाई निरन्तरता दिने र पाँच प्रदेशमा हेरफेर गर्ने सहमति भएको थियो । अहिले पूर्वसमझदारीअनुसार हेरफेरको समय पनि भएको छ ।

तर, कांग्रेस सभापति अहिले गगन थापा छन् । उनी नेतृत्वको कांग्रेसले कोशीमा एमालेले नै गर्ने नेतृत्वमा पूर्णविराम लगाउँदै कांग्रेसले कोशीको दाबी समेत गरेको छ । यता कर्णालीमा पनि कांग्रेसले दाबी गरिरहेको छ । यही सन्दर्भमा कांग्रेस सभापति र एमाले अध्यक्षबीचको छलफलपछि टुंगो लाग्ने बताइएको छ ।
‘हिजो कांग्रेस सभापतिसँग दुई प्रदेशबाहेक अन्यमा हेरफेर गर्ने सहमति भएको थियो । अहिले कांग्रेसको नेतृत्व फेरिएको छ, उहाँहरूको प्राथमिकता पनि फेरिएको छ । त्यसैले अब हेरफेर हुँदा सबै प्रदेशमा हेरफेर हुन्छ होला,’ एमाले स्रोतले भन्यो ।

यसअघि अध्यक्ष ओलीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहलाई पनि तीनदलीय सरकारको सम्भावनाबारे बताएका थिए । मुख्यमन्त्री शाहले ओलीको प्रस्तावलाई पार्टी सभापति थापालाई पनि सुनाएका थिए । अन्य नेताहरूबीच छलफल भइरहे पनि दुई दलका नेताहरूले यस विषयमा आज-भोलिमै टुंगो लाग्ने बताएका छन् ।

‘कांग्रेससँग निरन्तरता दिनुपर्ने एमालेको पहिलो प्राथमिकताको विषय हो । तर, कांग्रेससँगको समन्वयमा नेकपालाई पनि सत्ता सहकार्यमा भित्र्याउने कुरा हुन सक्छ । लोकतन्त्रको रक्षाका लागि कांग्रेस, एमाले र नेकपाबीचको बलियो सहकार्यबारे पनि बहस जारी छ,’ एमाले नेताहरूले बताएका छन् ।

अघिल्लो शनिबार कांग्रेस सभापति गगनकुमार थापाले एमालेसँगको सहकार्य तत्काल टुट्ने सम्भावना नरहेको बताएका थिए । स्रोतका अनुसार कांग्रेस सभापतिमा निर्वाचित भएपछि पहिलोपटक सुदूरपश्चिम प्रदेश आउनुभन्दा पहिले थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका थिए ।

उनले धनगढीमा तत्काल कांग्रेस र एमालेको सहकार्य कायम रहने तथा बजेटपछि तीन दलबीचको सहकार्य पनि हुनसक्ने संकेत गरे । सभापति थापाको सन्देश र आगामी कार्ययोजना बोकेर मंगलबार कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा र सहमहामन्त्री उदयशमशेर राणा पुनः एमाले अध्यक्ष ओलीलाई भेट्न गुण्डु पुगे । गुण्डुमा मंगलबार साँझ कांग्रेस–एमाले सहकार्य निरन्तर राख्ने, तर केही प्रदेशमा सरकार हेरफेर गर्नेबारे छलफल भएको थियो । छलफलमा कांग्रेसका दुई पदाधिकारीले पूर्वसहमतिअनुसार प्रदेश सरकारहरूको आलोपालो गर्ने बेला भएकोबारे जानकारी गराएका थिए ।