
धनगढी उपमहानगरपालिकाले नगर क्षेत्रमा जडान गरिएका सडक बत्तीहरू अब राति १० बजेसम्म मात्रै सञ्चालन गर्ने निर्णय गरेको छ। अत्यधिक गर्मीका कारण विद्युत खपत बढ्दै गएपछि विद्युत प्रणालीमा परेको अतिरिक्त चाप व्यवस्थापन गर्न यस्तो निर्णय गरिएको जनाइएको छ।

उपमहानगरपालिकाका अनुसार पछिल्ला दिनमा बढ्दो लोडका कारण ट्रान्सफर्मर जल्ने, फ्युज जाने तथा लाइन ट्रिप हुने समस्या समय–समयमा देखिन थालेको छ। यसले विद्युत आपूर्तिमा अवरोध सिर्जना गरिरहेको भन्दै नगर क्षेत्रमा जडान गरिएका सडक बत्तीको सञ्चालन समय घटाइएको हो।
नगर प्रमुख गोपाल हमाल ले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै शनिबारदेखि यो व्यवस्था लागू गरिएको बताएका छन्।


उनले विद्युत आपूर्तिको अवस्थामा सुधार आएपछि सडक बत्तीहरू पुनः नियमित समयअनुसार सञ्चालन गरिने पनि स्पष्ट पारेका छन्। उपमहानगरपालिकाले नगरवासीलाई ऊर्जा बचतमा सहयोग गर्न समेत आग्रह गरेको छ।































