
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले युवाहरूलाई परिवर्तनका प्रमुख संवाहक भएको बताएका छन्। शनिबार धनगढीमा सुरु भएको “Sudurpaschim Youth Conference 2026” को उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले मुलुकका सबै राजनीतिक परिवर्तनमा युवाको सकारात्मक सोच, सक्रियता र प्रविधिमैत्री भूमिकाको महत्वपूर्ण योगदान रहेको उल्लेख गरे।

मुख्यमन्त्री शाहले २००७ सालको क्रान्तिदेखि २०४६/४७, २०६२/६३ को जनआन्दोलन हुँदै पछिल्लो पुस्तासम्म युवाले लोकतन्त्र, गणतन्त्र स्थापना, सुशासन प्रवर्द्धन र भ्रष्टाचार न्यूनीकरणमा उल्लेखनीय भूमिका खेलेको बताए। उनले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा युवाका आवाज समेट्ने प्रतिबद्धता जनाए।

कार्यक्रममा गैरसरकारी संस्था महासंघ नेपाल सुदूरपश्चिम प्रदेश अध्यक्ष देवी प्रसाद खनालको सभापतित्व रहेको थियो। साथै केन्द्रीय उपमहासचिव किरण थापा, भवराज रेग्मी, युवा अभियान अध्यक्ष योगेन्द्र काफ्ले तथा युवा परिषद्का कार्यकारी सदस्य पृथ्वीबहादुर शाह लगायतको उपस्थिति थियो।

“यंग पिपुल कमिङ टुगेदर टु स्ट्रेन्थेन डिजिटल सिभिक स्पेस” नारासहित सुरु भएको दुई दिने सम्मेलनमा प्रदेशका सबै नौ जिल्लाबाट युवाहरूको सहभागिता रहेको छ। सम्मेलन जेठ १० गतेसम्म सञ्चालन हुनेछ।































