
अत्तरियाः कैलालीको गोदावरी नगरपालिकाले “बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी” भन्ने नारासहित नगर स्तरिया बाल भेला तथा बाल सञ्जाल पुनर्गठनसँगै बाल संवाद कार्यक्रम सम्पन्न गरेको छ । आईतबार अत्तरियामा नगर बाल क्लबका अध्यक्ष दिलीप भट्टको सभापतित्वमा सम्पन्न कार्यक्रम महिला तथा बालबालिका शाखा प्रमुख गोदावरी खत्री धामीको संयोजनमा तथा बाल सम्वाद कार्यक्रम सञ्चालन गरिएको हो ।

कार्यक्रममा नगरभित्रका विद्यालय, समुदाय र वडा स्तरीय बाल सञ्जालहरूलाई समेट्दै १२ वटा बाल क्लब सञ्जालका करिब ६० जना बालबालिकाको सहभागिता रहेको थियो । सहभागी विद्यार्थीहरूले लागूऔषधको दुरुपयोग, विद्यालय आसपास मदिरा तथा सुर्तीजन्य पदार्थ बिक्री गर्ने पसल हटाउनुपर्ने लगायतका महत्वपूर्ण सुझाव प्रस्तुत गरेका थिए ।


त्यसैगरी नगरको करिब ४० प्रतिशत जनसंख्या बालबालिका रहेको उल्लेख गर्दै बजेट निर्माणको पूर्वसन्ध्यामा बाल हित, शिक्षा तथा खेलकुद क्षेत्रमा विशेष बजेट विनियोजन गर्नुपर्ने आवश्यकता पनि औँल्याइएको थियो ।
कार्यक्रममा बाल अधिकार, लागूऔषध नियन्त्रण, बाल विवाह, बाल श्रम, बाल बेचबिखन, हिंसा तथा असहाय बालबालिकाको संरक्षणजस्ता विषयमा जानकारी दिइएको थियो ।
समापन कार्यक्रममा नगर उपप्रमुख शारदा देवी रोकायाले बालबालिका भविष्यका कर्णधार भएको बताइन् भने नगर प्रवक्ता गोपालदत्त भट्टले उनीहरूको क्षमता विकासका लागि व्यवहारिक शिक्षा र खेलकुदमा जोड दिनुपर्ने धारणा राखे ।



































