
धनगढी: सुदूरपश्चिम थोक उपभोक्ता विशिष्टीकृत सहकारी संघको अध्यक्षमा देव बहादुर बम निर्विरोध निर्वाचित भएका छन् । धनगढीमा आज सम्पन्न संघको साधारणसभाबाट बमको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो ।

सुदूरपश्चिम प्रदेशका विभिन्न ठूला सहकारी संस्थाहरूको सहभागिता रहने उक्त संघमा नवजीवन, उदयदेव, किसान, संगम लगायत ठुलो कारोबार गर्ने सहकारी संस्थाहरू आबद्ध रहेका छन् । संघले उपभोक्तालाई प्रत्यक्ष रूपमा उत्पादनसँग जोड्ने, बजार व्यवस्थापनलाई व्यवस्थित बनाउने तथा सहकारीमार्फत गुणस्तरीय वस्तु तथा सेवा उपलब्ध गराउने लक्ष्य लिएको जनाएको छ ।
नवनिर्वाचित अध्यक्ष बमले सहकारी क्षेत्रलाई अझ सशक्त, व्यवस्थित र उपभोक्तामैत्री बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले किसान र उपभोक्ताबीचको दूरी घटाउँदै स्थानीय उत्पादनको बजारीकरणमा संघले महत्वपूर्ण भूमिका खेल्ने बताए ।


“सहकारीलाई केवल बचत तथा ऋणमा सीमित नराखी उत्पादन, वितरण र उपभोगसँग जोड्ने हाम्रो उद्देश्य हो,” अध्यक्ष बमले भने, “स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै उपभोक्तासम्म सहज पहुँच पुर्याउन संघ सक्रिय हुनेछ ।”
बम हाल नवजीवन सहकारी संस्था का सञ्चालक समिति अध्यक्ष समेत हुन् । उनले विशिष्टीकृत सहकारी संघको नेतृत्व सम्हालेपछि सहकारी क्षेत्रमा थप ऊर्जा र सक्रियता आउने विश्वास गरिएको सहभागीहरूले बताएका छन् ।
साधारणसभामा सहभागी सहकारीकर्मीहरूले सहकारीबीच समन्वय, थोक बजार व्यवस्थापन, स्थानीय उत्पादन प्रवर्द्धन तथा उपभोक्ता अधिकार संरक्षणका विषयमा संघले प्रभावकारी काम गर्ने अपेक्षा व्यक्त गरेका थिए ।
































