चुरेमा मातृ तथा बाल स्वास्थ्यमा आशाको उज्यालो

Image
Nisarga Hospital

धनगढी : कैलालीको चुरे गाउँपालिकामा सञ्चालित मातृ तथा बाल स्वास्थ्य व्यवहार प्रवद्र्धन परियोजनाले दुर्गम बस्तीका नागरिकको जीवनमा सकारात्मक परिवर्तन ल्याएको छ ।

CP Hospital Dhangadhi

जापान सरकारको आर्थिक सहयोग, आम्दा माइन्डको नेतृत्व तथा फाया नेपालको सहकार्यमा तीन वर्षसम्म सञ्चालन गरिएको परियोजनाले स्वास्थ्य चेतना अभिवृद्धिसँगै आधारभूत स्वास्थ्य पूर्वाधार निर्माणमा समेत महत्वपूर्ण उपलब्धि हासिल गरेको हो ।

मंगलबार धनगढीमा आयोजित सिकाइ आदान–प्रदान कार्यक्रममा सरोकारवालाहरूले दुर्गम मानिने चुरे गाउँपालिकामा परियोजनामार्फत मातृ तथा बाल स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधार भएको बताएका छन् ।

nawajiwan

गाउँपालिका उपाध्यक्ष धनादेवी थापाले परियोजनाले धेरै आमा तथा शिशुको ज्यान जोगाउन योगदान पु¥याएको बताउँदै प्रशंसा गरिन् । सीमित स्रोत–साधनका कारण स्थानीय सरकारले गर्न नसकेको काम परियोजनाले प्रभावकारी रूपमा सम्पन्न गरेको उनको भनाइ थियो ।

कार्यक्रममा युएनएफपीए की तुलसी भारतीले कार्यक्रम प्रभावकारी भएकाले यसको निरन्तरतामा जोड दिइन् । सरकारसँग सहकार्य गरेर आगामी दिनमा पनि यस्ता कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको उनले बताइन् ।

स्वास्थ्य कार्यालय कैलालीकी अधिकृत रमा गिरिले सरकारले एक्लैले गर्न नसकेको काम गैरसरकारी संस्थाले प्रभावकारी रूपमा अघि बढाएको भन्दै प्रशंसा गरिन् । धनगढी उपमहानगरपालिकाका स्वास्थ्यकर्मी कृष्ण बोहराले चुरेको कठिन भौगोलिक अवस्थालाई ध्यानमा राखेर गरिएको काम उदाहरणीय रहेको बताए ।

Attariya Hospital

त्यस्तै गैर सरकारी संस्था महासंघ का देवी खनालले राज्यले गर्न नसकेको काम गैरसरकारी संस्थाले सफलतापूर्वक सम्पन्न गर्नु गौरवको विषय भएको उल्लेख गर्दै स्थानीय तथा प्रदेश सरकारसँग समन्वय गरी परियोजनालाई निरन्तरता दिनुपर्ने बताए ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभाका महिला सांसदहरूले पनि परियोजनाको उपलब्धिको खुलेर प्रशंसा गरेका थिए । कार्यक्रममा फाया नेपालका कार्यकारी निर्देशक शेरबहादुर बस्नेत ले परियोजना लागू भएपछि चुरेमा मातृ तथा बाल स्वास्थ्य अवस्थामा उल्लेखनीय सुधार आएको बताए । सार्वजनिक स्वास्थ्य संस्थामार्फत सुरक्षित सुत्केरी गराउनेको संख्या बढ्नुका साथै समुदायस्तरमा स्वास्थ्य सचेतना समेत वृद्धि भएको उनले जानकारी दिए ।

परियोजना अधिकृत लालबहादुर महराका अनुसार विकट क्षेत्रमा स्वास्थ्य सेवा पहुँच विस्तार गर्न वडा नम्बर २ खैराला र वडा नम्बर ४ गर्भामा स्वास्थ्य संस्था निर्माण गरिएको छ । यस्तै वडा नम्बर ५ सल्लेबुगाँ र वडा नम्बर ६ कुमैनामा गाउँघर क्लिनिक स्थापना गरिएको छ ।

परियोजना अन्तर्गत शौचालय, खानेपानी तथा गाउँघर क्लिनिकजस्ता पूर्वाधार निर्माणले स्थानीय बासिन्दाको दैनिक जीवन सहज बनाएको छ । सन् २०२३ मार्चदेखि २०२६ सम्म सञ्चालन भएको परियोजनाले चुरेजस्ता दुर्गम क्षेत्रमा स्वास्थ्य क्षेत्रमा लगानीको प्रभाव स्पष्ट रूपमा देखाएको सहभागीहरूको निष्कर्ष थियो ।

कार्यक्रममा फाया नेपालका अध्यक्ष गोमा आचार्यले परियोजनाले दुर्गमका नागरिकहरुको स्वास्थ्य सम्बन्धी ज्ञान, चेतना तथा स्वास्थ्य सेवा उपयोग गर्ने व्यवहारमा सकारात्मक प्रभाव ल्याएको उल्लेख गरिकी थिइन । कार्यक्रममा सरकारी तथा गैर सरकारी निकायका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।