
कञ्चनपुर: आर्थिक वर्ष २०८२/०८३ मा सम्पन्न स्वास्थ्य चौकीहरूको न्यूनतम सेवा मापदण्ड (HPMSS) कार्यक्रम अन्तर्गत आयोजित जिल्ला स्तरीय समीक्षा गोष्ठीमा लालझाडी गाउँपालिका अन्तर्गत रहेको देखतभूली स्वास्थ्य चौकी जिल्लामै प्रथम हुन सफल भएको छ।

स्वास्थ्य चौकीले ९६.३९ प्रतिशत उत्कृष्ट स्कोर प्राप्त गर्दै जिल्लाभरिका स्वास्थ्य संस्थामध्ये पहिलो स्थान हासिल गरेको लालझाडी स्वास्थ्य शाखा प्रमुख खगेन्द्र चौधरीले बताएका छन्।


यस उपलब्धिसँगै गाउँपालिकाले गुणस्तरीय आधारभूत स्वास्थ्य सेवा प्रवाह, सेवाप्रतिको समर्पण, अनुशासन तथा उत्कृष्ट कार्यसम्पादनमार्फत गाउँपालिकाको गौरव बढाएको भन्दै देखतभूली स्वास्थ्य चौकी परिवारप्रति हार्दिक बधाई तथा धन्यवाद व्यक्त गरेको छ।
गाउँपालिकाले आगामी दिनहरूमा पनि यस्तै उत्कृष्ट सेवा र कार्यसम्पादनलाई निरन्तरता दिने विश्वास व्यक्त गर्दै स्वास्थ्यकर्मीहरूको मेहनत, लगनशीलता र सेवाभावको उच्च सम्मान गरेको जनाएको छ।



































