
धनगढीस्थित नवजीवन सहकारी संस्थामा हालै सम्पन्न निर्वाचनबाट निर्वाचित नयाँ कार्यसमितिले बुधबार औपचारिक रूपमा पदभार ग्रहण गरेको छ। सपथ तथा गोपनीयताको शपथ ग्रहणपछि नवनिर्वाचित पदाधिकारीहरू कार्यालय पुगेर कार्यभार सम्हालेका हुन्।

नवनिर्वाचित अध्यक्ष गाेपालराज पाठक, उपाध्यक्ष उत्तमराज जोशीसहित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूले पदभार ग्रहण गरेका छन्। पदभार ग्रहण समारोहमा निवर्तमान अध्यक्ष देवबहादुर बमले नयाँ नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।
हालै सम्पन्न निर्वाचनमा अध्यक्षमा गाेपालराज पाठक, उपाध्यक्षमा उत्तमराज जोशी, तथा सञ्चालक समितिका सदस्यहरूमा केशवराज जोशी, कोपिला कुँवर, गणेश बम, जयराज जोशी, लक्ष्मीराज पन्त र दीर्घबहादुर शाह निर्वाचित भएका थिए। त्यसैगरी लेखा सुपरिवेक्षण समितिको संयोजकमा गणेशराज जोशी तथा सदस्यहरूमा खेमराज पाठक र गणेशप्रसाद उपाध्याय निर्वाचित भएका छन्।


पदभार ग्रहणपछि बसेको पहिलो सञ्चालक समितिको बैठकले सहकारीको संस्थागत सुदृढीकरण र सदस्यहरूको क्षमता विकासका लागि सहकारी शिक्षासम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ। साथै, निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न योगदान गर्ने सबै पक्षप्रति आभार व्यक्त गरिएको छ।
नयाँ नेतृत्वले सहकारीलाई पारदर्शी, उत्तरदायी र सदस्यमैत्री बनाउने प्रतिबद्धता समेत जनाएको छ। समितिले आगामी दिनमा सेवा विस्तार र वित्तीय सुदृढीकरणलाई प्राथमिकतामा राख्ने बताइएको छ।
































