
कैलालीको लम्कीचुहा प्रादेशिक अस्पताल अन्ततः प्रदेश सरकारले औपचारिक रूपमा उद्घाटन गरेको छ। बिहीबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नगर प्रमुख सुशीला शाहीको विरोधबीच अस्पताल उद्घाटन गरेका हुन्। यसअघि पनि मेयर शाहीकै अवरोधका कारण उद्घाटन रोकिएको थियो।

नगर प्रमुख शाही अजरबैजान भ्रमणमा रहेका बेला सम्पन्न कार्यक्रममा उपमेयर जुना चौधरी, सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्का, प्रदेशसभा सदस्य रामेश्वर चौधरीलगायत जनप्रतिनिधिको सहभागिता रहेको थियो। सम्भावित विवाद र अप्रिय घटना रोक्न अस्पताल परिसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो सुरक्षा परिचालन गरिएको थियो। नगर प्रहरीलाई भने प्रवेशमा रोक लगाइएको थियो।

उद्घाटनपछि आयोजित कार्यक्रममा अधिकांश वक्ताले विकास निर्माणका काममा राजनीतिक अवरोध नगर्न आग्रह गरेका थिए। मेयर शाहीले भने प्रदेश सरकारले सम्झौताविनै जबर्जस्ती अस्पताल सञ्चालन गर्न खोजेको आरोप लगाउँदै विरोध जनाउँदै आएकी छन्।

यसअघि १५ शैयाको नगर अस्पताललाई ५० शैयाको प्रादेशिक अस्पताल बनाउने प्रस्तावमा सहमति जनाएकी शाहीले पछि प्रदेश सरकारको हस्तक्षेपमाथि प्रश्न उठाएकी थिइन्। उनले निर्णयविरुद्ध सर्वोच्च अदालतमा मुद्दासमेत दायर गरेकी थिइन्। तर स्वास्थ्य सेवा प्रदेश सरकारको अधिकार क्षेत्रभित्र पर्ने भन्दै अदालतले तत्काल अन्तरिम आदेश दिन अस्वीकार गरेपछि उद्घाटन प्रक्रिया अघि बढाइएको हो।
































