विद्यालय शिक्षा सुधारमा जोड : ‘SESP’ प्रभावकारी कार्यान्वयनका लागि तीन तहका सरकारबीच समन्वय आवश्यक

Image
Nisarga Hospital

अत्तरिया:  विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धि, समतामूलक पहुँच सुनिश्चितता तथा शिक्षामा देखिएका चुनौतीहरूको समाधान खोज्ने उद्देश्यले अत्तरियामा विद्यालय शिक्षा क्षेत्र योजना (SESP) सहजीकरण अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रको सहकार्य तथा नेपाल नगरपालिका संघको आयोजनामा भएको कार्यक्रममा सुदूरपश्चिम प्रदेशका स्थानीय तह, शिक्षा क्षेत्रका सरोकारवाला तथा सरकारी निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

CP Hospital Dhangadhi

नेपाल नगरपालिका संघ सुदूरपश्चिम प्रदेश समितिका सभापति तथा गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री मेघराज खड्का प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।  कार्यक्रममा नेपाल नगरपालिका संघ केन्द्रिय सदस्य तथा भिमदत्त नगरपालिका मेयर पदम बोगटी, विभिन्न पालिका मेयर तथा अध्यक्षहरु, प्रमुख प्रशासकिय अधिकृत, समाजिक विकास मन्त्रालय शिक्षा अधिकृत,  सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्ववद्यालय सिनेट सदस्य, विभिन्न पालिकाका शिक्षा शाखा प्रमुख, विद्यालय व्यवस्थापन समिति अध्यक्ष लगायत सरोकार राख्ने निकायको उपस्थिति रहेको थियो।

nawajiwan
oplus_0

कार्यक्रममा शिक्षा तथा मानव स्रोत विकास केन्द्रका योजना तथा अनुगमन शाखाका निर्देशक नीलकण्ठ ढकालले विद्यालय शिक्षा क्षेत्र योजना (SESP) को उद्देश्य, कार्यान्वयन प्रक्रिया, अवसर, चुनौती तथा समाधानका उपायबारे विस्तृत प्रस्तुति दिएका थिए। उनले विद्यालय शिक्षाको सुधारका लागि संघ, प्रदेश र स्थानीय सरकारबीच प्रभावकारी समन्वय अपरिहार्य रहेको बताए।

प्रस्तुतिमा विद्यालय नक्साङ्कन, विद्यालय समायोजन तथा पुनर्वितरण, सीमान्तकृत र अपाङ्गता भएका बालबालिकाका लागि छात्रवृत्ति व्यवस्था, समावेशी शिक्षा, सुरक्षित खानेपानी तथा सरसफाइ, विद्यालयको भौतिक र शैक्षिक वातावरण सुधार, विपद्का बेला सिकाइको निरन्तरता तथा भूकम्प प्रतिरोधी संरचना निर्माणजस्ता विषयलाई प्राथमिकतामा राखिएको थियो। साथै युवा तथा प्रौढ साक्षरता, सामुदायिक सिकाइ केन्द्रहरूको प्रभावकारिता वृद्धि र अनौपचारिक रूपमा प्राप्त ज्ञान तथा सीपको प्रमाणीकरणका विषय पनि योजनामा समेटिएका छन्।

oplus_0
Attariya Hospital

कार्यक्रमलाई सम्बोधन गर्दै सामाजिक विकास मन्त्री मेघराज खड्काले सुदूरपश्चिममा शिक्षा क्षेत्रको विकास प्रदेश सरकारको प्राथमिकतामा रहेको बताए। उनले विशेषगरी पहाडी जिल्लाहरूमा देखिएका शैक्षिक चुनौती समाधान गर्न नवीन सोच र प्रभावकारी योजना आवश्यक रहेको उल्लेख गरे। सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको सिकाइ उपलब्धि सुधार गर्न परम्परागत पठनपाठन शैली परिवर्तन गरी व्यवहारिक र आधुनिक शिक्षण पद्धति अवलम्बन गर्नुपर्नेमा उनले जोड दिए।

कार्यक्रममा सहभागी स्थानीय तहका जनप्रतिनिधिहरूले विद्यालय शिक्षा क्षेत्र योजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै तहका सरकारबीच सहकार्य, पर्याप्त बजेट व्यवस्थापन तथा स्थानीय आवश्यकताअनुसारका कार्यक्रम सञ्चालन गर्नुपर्ने धारणा व्यक्त गरेका थिए।

oplus_0

कार्यक्रमको अध्यक्षता गरेका नेपाल नगरपालिका संघ सुदूरपश्चिम प्रदेश समितिका सभापति तथा गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्टले विद्यालय शिक्षा क्षेत्र योजना सफल कार्यान्वयनका लागि स्थानीय तहको भूमिका महत्वपूर्ण रहेको बताए। उनले गुणस्तरीय, समावेशी र प्रविधिमैत्री शिक्षाको विकास आजको आवश्यकता भएको उल्लेख गर्दै शिक्षा सुधारका लागि संघ, प्रदेश र स्थानीय सरकारबीच प्रभावकारी समन्वय, साझा प्रतिबद्धता तथा पर्याप्त स्रोत व्यवस्थापन आवश्यक रहेको धारणा व्यक्त गरे।

भट्टले योजना कार्यान्वयनका क्रममा देखिने चुनौतीहरूको समाधानका लागि सबै सरोकारवालाबीच निरन्तर सहकार्य र अनुभव आदानप्रदान आवश्यक रहेको भन्दै कार्यक्रमबाट प्राप्त सुझावहरूले शिक्षा क्षेत्र सुधारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्दै कार्यक्रमको समापन गरेका थिए। कार्यक्रमको सञ्चालन नेपाल नगरपालिका संघकी कार्यक्रम संयोजक सुनिता सुवेदीले गरेकी थिइन्।