
अत्तरियाः सुदूरपश्चिम प्रदेशका तीन प्रादेशिक अस्पताललाई १०० शय्यामा स्तरोन्नति गरिने भएको छ। प्रदेश सरकार मातहत रहेका सेती, महाकाली र टीकापुर अस्पताललाई १०० शय्यामा विकास गर्ने योजना प्रदेश सरकारले अघि सारेको हो।

प्रदेश प्रमुख नजिर मियाँले प्रदेशसभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा यसबारे जानकारी दिइएको हो।

त्यस्तै, प्रदेशका छ पहाडी जिल्लामा रहेका जिल्ला अस्पताललाई पनि २५ देखि ५० शय्यामा स्तरोन्नति गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। यसले प्रदेशभर स्वास्थ्य सेवा सुदृढीकरणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

































