
अत्तरिया: कैलालीको गोदावरी नगरपालिकामा “स्थानीय आर्थिक विकास (LED) क्षमता अभिवृद्धि तथा पालिका स्तरीय कार्ययोजना तर्जुमा” सम्बन्धी तीन दिने तालिम सुरु भएको छ। जेठ १९ देखि २१ गतेसम्म सञ्चालन हुने उक्त तालिम जर्मन सहयोगमा सञ्चालित GRAPE–2 परियोजना अन्तर्गत GIZ द्वारा कार्यान्वयन गरिएको हो।
नगर प्रमुख बिरेन्द्र भट्टको अध्यक्षतामा सुरु भएको कार्यक्रममा उपप्रमुख शारदा देवी रोकाया, प्रमुख प्रशासकीय अधिकृत धर्मराज बिनाडी, विभिन्न शाखाका प्रमुखहरू, जनप्रतिनिधि, कृषि, योजना, पशु, महिला विकास तथा जेष्ठ नागरिक, सहकारी शाखाका प्रतिनिधि, स्थानीय व्यवसायी तथा उद्योगीहरूको उपस्थिति रहेको थियो।

तालिमको मुख्य उद्देश्य नेपालमा लैङ्गिक समानतासहित जलवायु–उत्थानशील तथा जैविक विविधतामैत्री आर्थिक विकासलाई सुदृढ गर्नु रहेको छ। कार्यक्रममा स्थानीय आर्थिक विकासका अवधारणा, प्रणालीगत सोच (Systems Thinking) तथा स्थानीय आर्थिक गतिशीलता सम्बन्धी साझा बुझाइ विकास गर्ने लक्ष्य राखिएको छ।

त्यस्तै स्थानीय अर्थतन्त्र मूल्याङ्कन (LEA) सञ्चालन गर्ने क्षमता अभिवृद्धि गर्दै क्षेत्रगत अवसर तथा अवरोध पहिचान गर्ने, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण (GESI), लैङ्गिक उत्तरदायी बजेट (GRB) तथा जलवायु जोखिम न्यूनीकरणलाई योजना प्रक्रियामा समेट्ने विषयमा विशेष जोड दिइएको छ।

तालिममार्फत कार्यान्वयनयोग्य, प्राथमिकतामा आधारित तथा बजेटसँग आबद्ध स्थानीय आर्थिक विकास कार्ययोजना तयार गर्ने क्षमता विकास गरिने बताइएको छ। साथै पालिका, निजी क्षेत्र, सहकारी तथा समुदायबीच सहकार्यात्मक योजना प्रक्रिया प्रवर्द्धन गर्ने उद्देश्य पनि रहेको छ।


कार्यक्रम अन्तर्गत पहिलो दिन स्थानीय आर्थिक विकास र आर्थिक प्रणालीको बुझाइ, स्थानीय अर्थतन्त्रको वर्तमान अवस्था, CCFF तथा जलवायु–लैङ्गिक उत्तरदायी बजेट सम्बन्धी परिचयात्मक सत्रहरू सञ्चालन गरिएको थियो। साथै प्रतिस्पर्धात्मक लाभको सहभागितामूलक विश्लेषण र LEA अन्तर्गत मूल्य शृङ्खला, अवसर तथा चुनौती पहिचानसम्बन्धी छलफल गरिएको थियो।
GRAPE–2 परियोजनाले कैलाली, डोटी र डडेल्धुरा जिल्लाका धनगढी, गोदावरी, जोरायल, अमरगढी र आलिताल पालिकामा कार्य गर्दै आएको छ। यस परियोजनाले अलैंची, स्याउ, फापर, कोदो, अदुवा, जडिबुटी, कफी, चिया, बेसार र दलहन जस्ता मूल्य शृङ्खलामा आधारित उद्यम विकासलाई प्राथमिकतामा राखेको छ।
गोदावरी नगरपालिका नगर प्रमुख बिरेन्द्र भट्टले तालिमले गोदावरी नगरपालिकाको स्थानीय आर्थिक विकास (LED) लाई योजनाबद्ध र परिणाममुखी बनाउने विश्वास व्यक्त गरेका छन्।

उनले भने, “स्थानीय स्रोत, सम्भावना र जनशक्तिलाई सही रूपमा उपयोग गर्न सकिएमा मात्रै दिगो आर्थिक विकास सम्भव हुन्छ। GRAPE–2 जस्ता परियोजनाले जलवायु–उत्थानशील, लैङ्गिक समानता र जैविक विविधतामैत्री आर्थिक प्रणाली विकासमा महत्वपूर्ण योगदान पुर्याइरहेका छन्।”
नगर प्रमुख भट्टले स्थानीय तह, निजी क्षेत्र, सहकारी र समुदायबीच सहकार्य अझ मजबुत बनाउन आवश्यक रहेको उल्लेख गर्दै सहभागीलाई प्राप्त ज्ञानलाई व्यवहारमा लागू गर्न आग्रह गरे। उनले तालिमले आगामी दिनमा पालिकाको नीति तथा योजनालाई अझ प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा समेत व्यक्त गरे।
































