
नेपाली कांग्रेस संसदीय दल, सुदूरपश्चिम प्रदेशको ४८औँ बैठक दलका नेता तथा मुख्यमन्त्री कमल बहादुर शाहको अध्यक्षतामा बुधबार सम्पन्न भएको छ। बैठकले समसामयिक राजनीतिक विषय, दलभित्रको एकता तथा प्रदेश सरकारसँग सम्बन्धित महत्वपूर्ण विषयमा विस्तृत छलफल गर्दै विभिन्न निर्णयहरू गरेको छ।

बैठकमा प्रदेश सभा सदस्यद्वय मानबहादुर रावल र दिवान सिंह विष्टसहित केही सदस्यहरूको २०८३ जेठ ८ गतेको हस्ताक्षरसहितको निवेदनबारे विशेष छलफल भएको थियो। सो सन्दर्भमा २०८३ जेठ १७ गते १२ जना माननीय सदस्यहरूको उपस्थितिमा बसेको बैठकले वर्तमान सरकारले नै बजेट निर्माण गर्ने निर्णय गरिसकेको आधारमा जेठ ८ गतेको हस्ताक्षर स्वतः निष्क्रिय भएको ठहर गरेको छ।

त्यसैगरी बैठकले मुलुकको वर्तमान राजनीतिक परिस्थिति, नेपाली कांग्रेसको ऐतिहासिक भूमिका तथा जिम्मेवारीबारे समेत गहन समीक्षा गरेको छ। पार्टीलाई जनता प्रति उत्तरदायी, जवाफदेही र लोकतान्त्रिक मूल्य–मान्यताप्रति प्रतिबद्ध बनाउँदै लैजानुपर्नेमा सबै सदस्यहरूको साझा धारणा रहेको बताइएको छ।

बैठकले पार्टीभित्र देखिएका मतभेद र विमतिलाई संवाद, छलफल र सहमतिका माध्यमबाट समाधान गर्दै अघि बढ्नुपर्ने निष्कर्ष निकालेको छ। साथै, संसदीय दल पूर्ण रूपमा एकताबद्ध रहेको उल्लेख गर्दै प्रदेशको समृद्धि, जनताको हित र पार्टीको सुदृढीकरणका लागि सबै सांसदहरू जिम्मेवार र प्रतिबद्ध रहने निर्णय पनि गरिएको छ।
































