
अत्तरियाः स्वर्गीय पूजनीय बुवा साईचे सुनारको पवित्र सम्झनामा छोरा शंकर सुनारले गोदावरी आधारभूत स्वास्थ्य सेवा केन्द्रलाई मृत मानव शरिर चिस्यान (मोर्ट्युअरी) यन्त्र हस्तान्तरण गरेका छन्।

गोदावरी नगरपालिका वडा न .१०, ११ र १२ क्षेत्रलाई सेवा दिने उद्देश्यले स्थापना गरिएको उक्त उपकरण नगरपालिकाको कार्यपालिका कार्यालयमार्फत औपचारिक रूपमा हस्तान्तरण गरिएको हो। गोदावरी नगरपालिका–११ गौडीमा आयोजित कार्यक्रममा स्वर्गीय साईचे सुनार (जन्म १९९९–०५–१८, निधन २०७९–०६–०३) को नाममा परिवारले यो सामाजिक योगदान गरेको हो।

कार्यक्रममा गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले भने, “रोजगारीका लागि छोराछोरी विदेश तथा बाहिरिने क्रम बढिरहेको छ। यता घरमा आकस्मिक रूपमा आफन्तको निधन हुँदा अन्तिम संस्कार व्यवस्थापनमा धेरै कठिनाइ हुने अवस्था छ। यस्तो अवस्थामा मृत मानव शरिर चिस्यान उपकरणले शव सुरक्षित राख्न महत्वपूर्ण सहयोग पुग्ने बतएका छन । मृत मानव शरीर चिस्यान यन्त्र भए आफन्त नआउँदासम्म बरफमा मृत शरीर राख्नुपर्ने बाध्यताको अन्त्य हुने भएको छ। सो यन्त्र सुनारले भारतबाट ल्याएर निःशुल्क अस्पताललाई हस्तान्तरण गरेका हुन्।” उनले मृतक साईवे सुनारलाई स्वर्गमा वास होस भन्दै, परिवार जनमा शान्तीको कामना समेत गरेका छन ।

उनले यस्ता सामाजिक सहयोगले स्थानीय स्वास्थ्य सेवा प्रणालीलाई अझ सुदृढ बनाउने उल्लेख गर्दै समुदायस्तरमै सहकार्य आवश्यक रहेको बताए।
स्वर्गीय साईचे सुनारका परिवारजनले पनि बुवाको सम्झनामा गरिएको यस कार्यलाई सामाजिक सेवासँग जोड्न पाएकोमा सन्तोष व्यक्त गरेका छन्। उनीहरूले भविष्यमा पनि समाजका आवश्यक क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
नगरपालिकाले उक्त उपकरणले स्थानीय बासिन्दालाई आपतकालीन अवस्थामा शव व्यवस्थापनमा सहजता ल्याउने विश्वास व्यक्त गरेको छ।




































