
जिल्ला प्रहरी कार्यालय कैलालीले विभिन्न स्थानबाट चोरी भएका १५ वटा मोटरसाइकल बरामद गरेको छ। बरामद मोटरसाइकलको अनुमानित मूल्य करिब १७ लाख ३० हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी मातहतका इलाका प्रहरी कार्यालय भजनी र लम्कीबाट खटिएको टोलीले जेठ २१ गते भजनी र लम्की क्षेत्रका विभिन्न स्थानबाट ती मोटरसाइकल फेला पारेको हो। चोरी भएका सवारीसाधन नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धनगढीमा ल्याइएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक योनेन्द्र तिमिल्सिनाका अनुसार चोरी नियन्त्रण तथा अपराध न्यूनीकरणका लागि प्रहरी नियमित रूपमा सक्रिय रहेको छ।


उनले नागरिकलाई आफ्ना सवारीसाधन सुरक्षित राख्न र कुनै पनि चोरीको घटना भएमा तुरुन्त प्रहरीलाई जानकारी दिन आग्रह गरेका छन्।
प्रहरीले बरामद मोटरसाइकलको स्रोत, चोरीमा संलग्न व्यक्ति तथा गिरोहबारे थप अनुसन्धान अगाडि बढाएको जनाएको छ।
































