
कैलालीको गोदावरी-५ मा रहेको गेटा आँखा अस्पताल संघर्ष समितिले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ । गणेश विष्टको संयोजकत्वमा गठित समितिले शुक्रबार कैलालीका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको हो।

व्यवस्थापनसमितिसंग विभिन्न माग राख्दै संघर्षमा उत्रेका उनीहरुले आफूहरुका मागमाथि प्रशासन र व्यवस्थापनसंग समन्वय गरिदिन आग्रह गर्दै ज्ञापन पत्र बुझाएका हुन् ।
कर्मचारी माथिको प्रशासकिय दमन बन्द गर्नुपर्ने, उमेरहद नाघेका कर्मचारीहरुलाई अवकास दिनुपर्ने, नेपाल नेत्रज्योती संघको आजीवन सदस्यता खुला गर्नुका साथै व्यवस्थापन समितिमा ५० प्रतिशत स्थानीय प्रतिनिधित्व हुनुपर्ने समितिले माग गरेको छ ।

त्यस्तै निहित व्यक्तिको उपस्थितिमा बनेको व्यवस्थापन समितिको औचित्यततामाथि प्रश्नचिन्ह खडा भएको हुँदा तत्काल आजीवन सदस्यता खुला गरी व्यवस्थापन समिति भंग गर्नुपर्ने र साधारण सभाको आह्वान गरी स्थानीयको ५० प्रतिशत सहभागितासहित पुनःह नयाँ व्यवस्थापन समिति चयन गर्नुपर्ने माग राखेका छन् ।

समितिले आजीवन सदस्यता शुल्क घटाई साधारण नागरिकको पहुँचको हिसाबमा कायम गर्नुपर्ने र चिकित्सकको पदपुर्ति गर्नुपर्ने माग गरेको छ ।
गेटा आँखा अस्पतालमा कर्मचारीहरुप्रति हुने बेतिथि दमनका विरुद्ध विभिन्न समयमा आन्दोलन हुने गरेको स्मरण गराउँदै समितिले आफूहरुका माग सुनुवाइ नभए विरोधका थप कार्यक्रमहरु गर्ने समितिले प्रष्ट पारेको छ ।

































