
अत्तरियाः कैलालीको गोदावरी नगरपालिकामा विद्यालय सुरक्षा तथा विपद् जोखिम न्यूनीकरणलाई सुदृढ बनाउने उद्देश्यसहित तीन दिने क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ। जसमा दुई दिन बिपद् सम्पर्क शिक्षक र १ दिन विद्यालय व्यावस्थापन समिति अध्यक्ष र प्रधानाध्यापक गरी तीन दिने कार्यक्रम सम्पन्न भएको छ । गोदावरी नगरपालिकाको आयोजना र युनिसेफ नेपालको आर्थिक सहयोगमा ‘वृहत विद्यालय सुरक्षा योजना’ अन्तर्गत कार्यक्रम सञ्चालन गरिएको हो।


नगरपालिकाको विपद् व्यवस्थापन शाखाको समन्वयमा सम्पन्न तालिममा करिब ४० वटा विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक तथा विपद् सम्पर्क शिक्षकहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममा बहुप्रकोपीय विपद् जोखिम, पूर्वतयारी, आपतकालीन प्रतिक्रिया, तथा सुरक्षित सिकाइ वातावरण निर्माणका विषयमा विस्तृत प्रशिक्षण दिइएको थियो।
कार्यक्रमको मुख्य उद्देश्य विद्यालय तहमा विपद् व्यवस्थापनलाई संस्थागत गर्दै जोखिम न्यूनीकरणका अभ्यासलाई व्यवहारमा लागू गर्नु रहेको आयोजकले जनाएको छ। साथै, विद्यालयमा हुने सम्भावित प्राकृतिक तथा मानवसिर्जित विपद् घटनाबाट विद्यार्थीलाई सुरक्षित राख्ने रणनीति निर्माणमा विशेष जोड दिइएको थियो।

विपद् व्यवस्थापन शाखा प्रमुख सुलोचना खड्काले कार्यक्रममा बोल्दै विद्यालयलाई सबैभन्दा संवेदनशील सिकाइ केन्द्रका रूपमा उल्लेख गर्दै भनिन्, “विद्यालय हाम्रो सबैभन्दा संवेदनशील सिकाइ केन्द्र हो। विपद् जोखिम न्यूनीकरणका लागि सबै सरोकारवालाको स्पष्ट भूमिका, नियमित तयारी र समन्वय अत्यन्त आवश्यक छ। सुरक्षित विद्यालय निर्माण बिना गुणस्तरीय शिक्षा सम्भव छैन।”

तालिमपछि सहभागी विद्यालयका प्रतिनिधिहरूले आ–आफ्ना विद्यालयमा विपद् पूर्वतयारी योजना प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन्। यस कार्यक्रमले विद्यालय स्तरमा सुरक्षित, सक्षम र विपद् प्रतिरोधी शिक्षण वातावरण निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।



































