
अत्तरियाः देशभित्रै रोजगारी सिर्जना गर्ने सपना अब केवल भाषण र चुनावी नारामा सीमित रहनु हुँदैन, यो त व्यवहारमै उतारिनुपर्ने राष्ट्रिय आवश्यकता हो भन्ने गहिरो अनुभूति बोकेर म विगत १०–१५ वर्षदेखि देशका विभिन्न जिल्लामा सरकारी तथा गैरसरकारी संघसंस्थासँग काम गर्दै आएको व्यक्ति हुँ। हाल कैलालीको अत्तरियालाई कर्मभूमि बनाउँदै सुदूर खबर अनलाइनमार्फत पत्रकारितामा सक्रिय छु।

एक समय म पनि “नेपालमा केही छैन” भन्ने निराशाले घेरिएर विदेश जाने तयारीसम्म पुगेको थिएँ। पासपोर्टदेखि भिसासम्म सबै प्रक्रिया पूरा भइसकेको थियो। तर जीवनसंगिनी र परिवारको स्नेह, विश्वास र अटल साथले मलाई त्यो बाटोबाट फर्कायो। आज फर्केर हेर्दा लाग्छ, यदि त्यतिबेला देशमै अवसर, नीति र वातावरण बलियो भएको भए म मात्र होइन, हजारौं युवाको पसिना विदेशको भूमिमा बग्ने थिएन।
ईन्जिनियरिङ पृष्ठभूमिसँगै पत्रकारितामा सक्रिय रहँदा मैले नजिकबाट देखेको यथार्थ के हो भने, देशसँग क्षमता, स्रोत र सम्भावनाको कुनै कमी छैन। कमी त केवल ती सम्भावनालाई उत्पादन, उद्यम र रोजगारीमा बदल्ने दृढ राजनीतिक इच्छाशक्तिको हो। बहुमत वा दुई तिहाइ जनमत पाएको सरकारले सत्ता मात्र होइन, जनताको विश्वास जित्ने विकासको स्पष्ट मार्गचित्र प्रस्तुत गर्न सक्नुपर्छ।

आजको नेपाल यस्तो बन्नुपर्छ जहाँ नेपालीले विदेशिन बाध्य नहुन्, बरु विदेशीहरू यहाँ आएर लगानी गर्न, काम गर्न र अवसर खोज्न आकर्षित होउन्।
CTEVT अन्तर्गत नर्सिङ, प्राविधिक तथा व्यवसायिक शिक्षामा हरेक वर्ष अर्बौं रुपैयाँ विदेशिने अवस्था रोक्न आवश्यक छ। राजनीतिक अस्थिरताको नाममा वर्षौंदेखि सम्बन्धन पर्खिरहेका कलेजहरूलाई तत्काल सञ्चालनमा ल्याइनुपर्छ। प्राविधिक शिक्षामा कोटा प्रणाली हटाई पूर्वाधार र आवश्यकताका आधारमा सिट क्षमता विस्तार गर्नुपर्छ। विदेश जाने युवाहरू—विशेषगरी इजरायल, कोरिया लगायत देशमा—सरकारकै प्राविधिक तयारी र तालिममार्फत पठाइए उनीहरू दक्ष भई शोषणबाट बच्नेछन् र फर्केर उद्यम गर्न सक्षम हुनेछन्।
विदेशबाट फर्किएका युवाका लागि लगानीमैत्री वातावरण बनाउनुपर्छ, करको बोझ घटाउनुपर्छ र “कर माथि कर” को मानसिकता अन्त्य गर्नुपर्छ। स्थानीय उत्पादनलाई ब्रान्डिङ गर्दै “Made in Nepal” अभियानलाई राष्ट्रिय स्तरमा विस्तार गर्नुपर्छ। सडक व्यापारलाई व्यवस्थित गरी सरल दर्ता र कर प्रणाली लागू गर्नुपर्छ।

फोहोर व्यवस्थापनलाई ऊर्जा उत्पादनसँग जोडेर बायोग्यास र बिजुली उत्पादनको स्रोत बनाइनुपर्छ। सार्वजनिक–निजी साझेदारीमार्फत ठूला पूर्वाधार परियोजना अघि बढाउनुपर्छ। IT पार्क, स्टार्टअप हब र इनोभेसन सेन्टर स्थापना गरेर युवालाई देशमै भविष्य देखाउन सकिन्छ। पर्यटनलाई केवल घुमफिर नभई वर्षभर चल्ने उद्योगका रूपमा विकास गर्नुपर्छ—नाइट मार्केट, सांस्कृतिक सम्पदा पुनर्जीवन र पर्यटन सर्किट निर्माणमार्फत।
युवा उद्यमीलाई शून्य ब्याजदरमा स्टार्टअप ऋण, स्मार्ट ट्राफिक प्रणाली, हरेक वडामा रोजगार सूचना केन्द्र, र रिमोट कामका अवसर सिर्जना गर्नुपर्छ। विदेशी लगानी आकर्षण, स्वास्थ्य–शिक्षा सुधार, जलविद्युत विस्तार, औद्योगिक क्षेत्र स्थापना, आधुनिक यातायात पूर्वाधार विकास र भ्रष्टाचार नियन्त्रणमार्फत मात्र समृद्ध नेपाल सम्भव छ।
यही कुरालाई बुदागतरुपमा छोटकरीमा …
१) CTEVT बाट नर्सिङ लगायत ब्यावसायिक शिक्षा अध्ययनका लागि बर्षेनी अर्बौ पैसा बिदेशिदै गएको छ, नेपालमा राजनितिक अस्थिरताका नाममा बर्षौ देखि सम्बन्धनको पर्खाईमा रहेका कलेज आशाको पर्खाईमा बसेका छन ।
२) प्राबिधिक शिक्षालाई पनि कोटो सिस्टम हटाएर Science, Management जस्तै पुर्वाधारको आधारमा सिट क्षमता बढाउन पाउने ब्यावस्था मिलाईयोस ।
३) बैदेशिक रोजगारीमा जाने जस्तै ईजराईल, कोरिया जानेलाई प्राबिधिक शिक्षाको ज्ञान भएकोलाई प्राथमिकताका साथ सरकारबाटै ब्यावस्थापन भएको खण्डमा बिदेशमा गएर दुःख पाउने थिएनन, आफ्नो शिप र क्षमताले स्वोरोजगार हुने थिए ।
४) बिदेशबाट नेपाल फर्केकाहरुलाई लगानी गर्ने बातावरण मिलाईयोस, कर माथी कर थुपार्ने काम बन्द गरियोस ।
५) स्थानीय उत्पादनलाई ब्रान्डिङ गरी “Made in Nepal” अभियान चलाईयोस र अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गरियोस ।
६) सडक व्यापारलाई व्यवस्थित गर्दै कर र दर्ता प्रणाली सरल बनाईयोस ।
७) फोहोर व्यवस्थापनलाई ऊर्जा उत्पादन (बायोग्यास/बिजुली) सँग जोड्दै लगियोस ।
८) सार्वजनिक–निजी साझेदारी (PPP) मार्फत ठूला पूर्वाधार परियोजना अघि बढाउने।
९) ठाउँ ठाउँमा आईटी पार्क र स्टार्टअप इन्क्युबेशन सेन्टर स्थापना गरियोस ।
१०) पर्यटन प्रवर्द्धनका लागि सांस्कृतिक सम्पदा पुनर्जीवन गरियोस ।
११) काठमाडौं लगायत देशका ठुला शहरमा “रात्री पर्यटन हब” बनाउन नाइट मार्केट विकास गरियोस ।
१२) युवा उद्यमीलाई शून्य ब्याजदरमा स्टार्टअप ऋण उपलब्ध गराईयोस, जसबाट नेपालमा नै केही गर्न सकियोस ।
१३) स्मार्ट ट्राफिक प्राणाली र सार्वजनिक यातायात सुधार गरियोस ।
१४) हरेक वडामा रोजगार सूचना केन्द्र स्थापना सँगै सम्भावित लाई यथाशिर्घा ब्यावस्थापन गरियोस ।
१५) इनोभेसन हबमार्फत फ्रीलान्स र रिमोट कामलाई प्रोत्साहन गरियोस ।
१६) स्वास्थ्य र शिक्षा क्षेत्रमा विदेशी लगानी आकर्षण गर्ने गरी बातावरण मिलाईयोस ।
१७) जलविद्युत उत्पादन विस्तार गरी देशलाई ऊर्जा निर्यात केन्द्र बनाउने।
१८) पराना महत्वपूर्ण उद्योगलाई संचालनमा ल्याउदै, हरेक प्रदेशमा औद्योगिक क्षेत्र (Industrial Zone) स्थापना गरियोस ।
१९) सडक सन्जाल, रेल र हवाई यातायात पूर्वाधार आधुनिक शैलीमा विकास गरियोस ।
२०) भ्रष्टाचार नियन्त्रण गरी लगानीमैत्री वातावरण निर्माण गरियोस ।
































