
बाजुरामा एक युवतीमाथि भान्साकोठामै सुतिरहेको अवस्थामा चक्कु प्रहार भएको छ। स्वामीकार्तिक खापर गाउँपालिका–४ वाईकी ३६ वर्षीया ठुमरा बिष्टमाथि अज्ञात समूहले आक्रमण गरेको प्रहरीले जनाएको छ।

आइतबार राति करिब साढे १ बजे २–३ जनाको समूहले उनलाई भान्साघरमा बोलाएर घाँटीको बायाँ भागमा चक्कु प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय स्वामीकार्तिकबाट प्रहरी निरीक्षक चन्द्रसिंह कठायतको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो।

प्रहरीले घाइते बिष्टलाई उद्धार गरी कोल्टी आधारभूत अस्पताल पुर्याएको थियो। सामान्य उपचारपछि उनलाई थप उपचारका लागि नेपालगञ्जस्थित अस्पतालमा रिफर गरिएको छ। उनको अवस्था हाल मध्यम रहेको बताइएको छ।

घटनामा संलग्न व्यक्तिहरूको पहिचान हुन नसकेको र खोजतलास तथा अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। प्रहरीले घटनाको कारणबारे विभिन्न कोणबाट अनुसन्धान अघि बढाएको छ।
































