
साविक उपविजेता फ्रान्सले फिफा विश्वकपमा विजयी सुरुवात गर्दै तेस्रो पटक उपाधि जित्ने अभियानलाई बलियो बनाएको छ। समूह ‘आई’ अन्तर्गत मंगलबार राति भएको खेलमा फ्रान्सले सेनेगललाई ३–१ गोल अन्तरले पराजित गरेको हो। खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा फ्रान्सले उत्कृष्ट पुनरागमन गर्दै जित सुनिश्चित गर्यो।

खेलको ६६औँ मिनेटमा माइकल ओलिसेको उत्कृष्ट पासमा रियल मड्रिडका स्टार केलियन एमबाप्पेले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाए। त्यसपछि दोस्रो हाफमा मैदान प्रवेश गरेका ब्राड्ले बारकोलाले गोल थप्दै फ्रान्सको अग्रता दोब्बर बनाए। इन्जुरी समयमा सेनेगलका इब्राहिम म्बायेले एक गोल फर्काए पनि ९६औँ मिनेटमा एमबाप्पेले लामो दूरीबाट आकर्षक गोल गर्दै फ्रान्सको ३–१ को जित पक्का गरे।

यो खेलसँगै ९९औँ अन्तर्राष्ट्रिय खेल खेलिरहेका २७ वर्षीय एमबाप्पेले फ्रान्सका लागि सर्वाधिक ५८ गोल गर्ने नयाँ कीर्तिमान कायम गरेका छन्। साथै विश्वकपमा उनको कुल गोल संख्या १४ पुगेको छ। उनले पेले, लियोनल मेस्सी र जुस्ट फोन्टेनको विश्वकप गोल कीर्तिमानलाई उछिन्दै गर्ड मुलरसँग बराबरी गरेका छन्। अब उनी विश्वकपमा सर्वाधिक गोल गर्ने सूचीमा ब्राजिलका रोनाल्डो (१५) र जर्मनीका मिरोस्लाभ क्लोज (१६) भन्दा मात्र पछाडि छन्। फ्रान्सले अब आफ्नो दोस्रो खेलमा इराक र अन्तिम समूह खेलमा नर्वेको सामना गर्नेछ।

































