
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मानव बेचबिखनको आशंकामा २७ जना महिलालाई प्रहरीले विदेश जानबाट रोकेर फिर्ता गराएको छ। वैदेशिक रोजगारीको नाममा उनीहरूलाई जोखिमपूर्ण गन्तव्यमा लैजान लागिएको गोप्य सूचनाका आधारमा विमानस्थल सुरक्षा प्रहरीले बुधबार नियन्त्रणमा लिएको हो।

प्रारम्भिक अनुसन्धान अनुसार ती महिलाहरूलाई ओमान पठाइने भनी झुक्याएर ‘भिजिट भिसा’ मार्फत कुवेत लैजान खोजिएको खुलासा भएको छ। नियन्त्रणमा लिइएका सबै महिलालाई थप अनुसन्धानका लागि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा पठाइएको छ।

एसएसपी सन्तोष खड्काका अनुसार उनीहरू आफैं पीडित हुन् र कसले, कस्तो प्रलोभनमा पारेर पठाउन खोजेको हो भन्नेबारे विस्तृत अनुसन्धान भइरहेको छ। मानव बेचबिखनमा संलग्न गिरोहको पहिचान र पक्राउका लागि प्रहरी सक्रिय बनेको छ। पछिल्लो समय भिजिट भिसाको दुरुपयोग बढेपछि विमानस्थलमा निगरानी र सुरक्षा कडाइ गरिएको प्रहरीले जनाएको छ

































