
नेकपाका नेता तथा पूर्वसभामुख कृष्णबहादुर महराले स्वास्थ्य अवस्थाका कारण सक्रिय राजनीतिक जिम्मेवारीबाट अलग भई साधारण सदस्यका रूपमा रहने घोषणा गरेका छन्।

एट्रोफी रोगबाट पीडित रहेका महराले नसाहरू र मांसपेशी क्रमशः खुम्चिँदै जाने समस्याका कारण लामो समयदेखि उपचार, थेरापी र औषधि सेवन गरिरहे पनि अपेक्षित सुधार नआएको बताएका छन्। स्वास्थ्य अवस्थाले पार्टी गतिविधिमा पहिलेझैँ सक्रिय भूमिका निर्वाह गर्न कठिन भएको उनको भनाइ छ।

बिहीबार जारी वक्तव्यमा उनले करिब ४८ वर्ष लामो कम्युनिस्ट आन्दोलन, संघर्ष र परिवर्तनको यात्रामा निरन्तर सहभागी भएको उल्लेख गर्दै आफ्नो जीवनको ठूलो हिस्सा पार्टी, देश र जनताको सेवामा समर्पित रहेको स्मरण गरेका छन्।

महराले यो निर्णय कुनै असन्तुष्टि, गुनासो वा वैचारिक मतभेदका कारण नभई स्वास्थ्यले सिर्जना गरेको बाध्यात्मक अवस्थाको परिणाम भएको स्पष्ट पारेका छन्।
































