
‘स्वस्थ वृद्धावस्थाका लागि योग’ भन्ने नाराका साथ आज नेपालसहित विश्वभर अन्तर्राष्ट्रिय योग दिवस विभिन्न कार्यक्रमसहित मनाइँदैछ। संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ देखि प्रत्येक वर्ष जुन २१ मा योग दिवस मनाउन थालिएको हो।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावलाई नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गरेपछि यो प्रस्ताव विश्वभर स्वीकृत भएको थियो। छोटो समयमा नै १७७ देशको समर्थन प्राप्त गर्दै योग दिवसले ऐतिहासिक कीर्तिमान कायम गरेको हो।
नेपालमा योग अभ्यासको परम्परा लामो समयदेखि रहँदै आएको छ। माघ १ गतेलाई राष्ट्रिय योग दिवसका रूपमा पनि मनाइन्छ। योग, ध्यान र आयुर्वेद प्राचीनकालदेखि नै मानसिक शान्ति र स्वास्थ्यका लागि महत्वपूर्ण मानिँदै आएको छ। पछिल्लो समय योगप्रति युवापुस्ताको आकर्षण बढ्दै गएको छ।


योगलाई रोग नलाग्ने जीवनशैलीको महत्वपूर्ण आधारका रूपमा लिइन्छ। नेपाल संस्कृत विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयमा योग अध्ययन–अध्यापन हुँदै आएको छ, जसले यसको वैज्ञानिक र शैक्षिक विकासलाई पनि बल पुर्याएको छ।
यस अवसरमा राष्ट्रिय खेलकुद परिषद् परिसरमा विशेष कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रममा योगासन, स्वास्थ्यसम्बन्धी जानकारी तथा जीवनमा योगको महत्वबारे सचेतना फैलाइने जनाइएको छ। मुख्यसचिवको उपस्थितिमा हुने कार्यक्रममा योगलाई सर्वव्यापी बनाउन जोड दिइनेछ।
































