
विश्वकप फुटबल २०२६ को समूह ‘एफ’ अन्तर्गत ह्युस्टनमा शनिबार भएको खेलमा नेदरल्यान्ड्सले स्विडेनलाई ५–१ गोल अन्तरले पराजित गर्दै शानदार प्रदर्शन गरेको छ। ब्रायन ब्रोबी र कोडी गाक्पोले समान दुई–दुई गोल गर्दै टोलीको जितमा महत्वपूर्ण भूमिका निभाए।

पहिलो खेलमा जापानसँग २–२ को बराबरीमा रोकिएको नेदरल्यान्ड्सले यस जितसँगै समूहको शीर्ष स्थान कब्जा गरेको छ र उपाधि दाबेदारीलाई बलियो बनाएको छ। उता, पहिलो खेलमा ट्युनिसियालाई ५–१ ले हराएको स्विडेनले नकआउट चरणमा पुग्न अब जापानविरुद्ध जित निकाल्नुपर्ने दबाबमा परेको छ।

खेलको पाँचौं मिनेटमै ब्रायन ब्रोबीले अग्रता दिलाएका थिए भने १७ औं मिनेटमा दोस्रो गोल थपे। दोस्रो हाफमा कोडी गाक्पोले ४७ र ५४ औं मिनेटमा लगातार दुई गोल गर्दै खेल लगभग सुनिश्चित गरे। स्विडेनका लागि ५९ औं मिनेटमा एन्थोनी इलाङ्गाले एक गोल फर्काए पनि क्रिसेन्सिओ समरभिलले ८९ औं मिनेटमा पाँचौं गोल थपे।

यो हार सन् १९५८ पछि स्विडेनको विश्वकपमा सबैभन्दा ठूलो पराजय हो। नेदरल्यान्ड्सले अब समूह चरणको अन्तिम खेल ट्युनिसियासँग खेल्नेछ।
































