
हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव देखिएको छ भने अन्य भूभागमा पश्चिमी र स्थानीय वायु सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको असरले देशका हिमाली र पहाडी क्षेत्रमा सामान्यतया बदली रहेको छ भने तराईमा आंशिक बदलीको अवस्था छ।

दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा बदली रहनेछ। मधेस प्रदेश, बागमती र गण्डकीका तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान छ भने लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।

कोशीका हिमाली–पहाडी क्षेत्रमा केही स्थानमा, साथै अन्य प्रदेशका पहाडी क्षेत्रमा थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोशी तराई तथा मधेस, बागमती र गण्डकीका केही स्थानमा पनि वर्षा हुन सक्नेछ। कोशीका केही क्षेत्रमा भारी वर्षाको जोखिमसमेत रहेको छ। लुम्बिनी र सुदूरपश्चिम तराईमा तातो लहरको सम्भावना देखिएको छ।

राति पनि कोशी, बागमती र गण्डकीका धेरै क्षेत्रमा बदली रहनेछ भने कोशीका केही स्थानमा चट्याङसहित मध्यम वर्षा र भारी वर्षाको सम्भावना यथावत् रहने महाशाखाले जनाएको छ।
































