
आर्थिक वर्ष २०८३/८४ को बजेटमा सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो निर्वाचन क्षेत्रमा एक सयभन्दा बढी योजनामा ठूलो मात्रामा बजेट विनियोजन गरेका छन्।

मुख्यमन्त्री शाहको निर्वाचन क्षेत्रअन्तर्गत पर्ने लम्कीचुहा नगरपालिकामा ४८ योजना, मोहन्याल गाउँपालिकाको वडा नम्बर ५ बाहेकका क्षेत्रमा २५ योजना तथा जानकी गाउँपालिकाका वडा नम्बर २, ५, ८ र ९ मा ४० वटा सडक पूर्वाधार योजनामा बजेट छुट्याइएको छ।
सडक र पुल निर्माणका योजनामा एउटै परियोजनामा न्यूनतम पाँच लाखदेखि अधिकतम पाँच करोडसम्म बजेट विनियोजन गरिएको छ। लम्कीचुहा क्षेत्रमा मात्रै ४८ योजनाका लागि ३० करोड ३१ लाख १० हजार रुपैयाँ छुट्याइएको छ।


यस्तै मोहन्याल गाउँपालिकाका ६ वटा वडामा २५ योजनाका लागि २९ करोड ७९ लाख ४० हजार र जानकी गाउँपालिकाका चार वडामा ४० योजनाका लागि १७ करोड ५५ लाख रुपैयाँ विनियोजन गरिएको छ।
आर्थिक मामिला मन्त्रालयले सार्वजनिक गरेको वार्षिक कार्यक्रम पुस्तिकाअनुसार मुख्यमन्त्री शाहको निर्वाचन क्षेत्रमा मात्रै सडक र पुल निर्माणका लागि कुल ७८ करोड ४४ लाख ५० हजार रुपैयाँ छुट्याइएको छ। वार्षिक कार्यक्रम पुस्तिकामा समावेश केही योजनामा दोहोरो बजेट विनियोजन गरिएको तथ्य पनि देखिएको छ।































