
कञ्चनपुर: कृष्णपुर नगरपालिका–४ अन्तर्गत तीजगडा देखि बालुवाटार क्षेत्रसम्मका स्थानीयवासीहरू गम्भीर खानेपानी संकटको सामना गर्न बाध्य भएका छन्। उक्त क्षेत्रका अधिकांश घरधुरीमा जडान गरिएका पानीका नल्का सुक्दै गइ रहेका कारण दैनिक जीवन प्रभावित भएको स्थानीयहरूको गुनासो छ।

स्थानीयवासीका अनुसार नजिकै रहेको श्री कृष्ण माध्यमिक विद्यालयको पानी ट्यांकीबाट पानी वितरण सुरु भएको करिब दुई वर्ष बितिसक्दा पनि लालीगुराँस नजिकको पानी ट्यांकी सञ्चालनमा आउन सकेको छैन। जसका कारण स्थानीयहरू पानीको अभाव झेल्न बाध्य भएका छन्।
स्थानीयहरूले यस विषयमा पटक पटक सामाजिक सञ्जालमार्फत सम्बन्धित निकायलाई ध्यानाकर्षण गराए पनि हालसम्म उक्त समस्या समाधानतर्फ कुनै प्रभावकारी पहल नभएको स्थानीयहरूको आरोप छ।


गणतन्त्र स्थापना पश्चात् कृष्णपुर नगरपालिकाले दुई जना मेयर र वडाले दुई जना वडाध्यक्ष पाइसकेको अवस्थामा समेत आधारभूत खानेपानी सेवाबाट वञ्चित हुनुपरेको भन्दै स्थानीयवासीहरूले दुःख व्यक्त गरेका छन्।
नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएको दाबी गरिरहे पनि स्वच्छ खानेपानीको अभावमा नागरिकको स्वास्थ्य कसरी सुरक्षित रहन सक्छ भन्ने प्रश्न स्थानीयहरूले उठाएका छन्।
स्थानीयवासीहरूले पुनः एकपटक सामाजिक सञ्जालमार्फत सम्बन्धित निकाय, जनप्रतिनिधि तथा सरोकारवालाहरूलाई समस्या समाधानका लागि तत्काल पहल गर्न आग्रह गरेका छन्। सरोकारवालाहरुको गम्भीर ध्यानाकर्षण होस।
































