
इरानले कुवेत र बहराइनमा रहेका अमेरिकी सैन्य अखडाहरूलाई लक्षित गर्दै मिसाइल र ड्रोन आक्रमण गरेको जनाएको छ। इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी)ले अमेरिकी हवाई हमलाको प्रतिउत्तरस्वरूप उक्त सैन्य कारबाही गरिएको दाबी गरेको हो।

इरानको सरकारी सञ्चारमाध्यम प्रेस टिभीका अनुसार अमेरिकाले युद्धविराम उल्लंघन गरेको आरोप लगाउँदै तेहरानले अब कूटनीतिक प्रक्रिया प्रभावकारी रूपमा अन्त्य भएको चेतावनी दिएको छ। घटनापछि क्षेत्रीय सुरक्षा अवस्था थप संवेदनशील बनेको छ।
कुवेतको सेनाले आइतबार बिहान आफ्नो वायु रक्षा प्रणाली सक्रिय पारेर सम्भावित आक्रमणहरूलाई निष्क्रिय बनाउने प्रयास गरेको जनाएको छ। उता बहराइनको गृह मन्त्रालयले आपत्कालीन साइरन बजाइएको पुष्टि गर्दै नागरिकहरूलाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ।


यसअघि अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम)ले व्यापारिक जहाजमाथि भएका इरानी आक्रमणको जवाफमा इरानका सैन्य निगरानी प्रणाली, सञ्चार संयन्त्र, वायु रक्षा केन्द्र तथा ड्रोन भण्डारणस्थलहरूमा शक्तिशाली हवाई आक्रमण गरेको थियो।
त्यही अमेरिकी कारबाहीको प्रतिशोधस्वरूप इरानले पछिल्लो मिसाइल तथा ड्रोन आक्रमण गरेको दाबी गरिएको छ। दुवै पक्षबीच सैन्य गतिविधि तीव्र बन्दै जाँदा मध्यपूर्वमा तनाव थप बढेको छ। घटनाबारे अमेरिकी सेन्ट्रल कमान्डबाट विस्तृत विवरण आउन बाँकी रहेको छ।































