
धनगढी : यातायात व्यवस्था कार्यालय कैलालीमा केन्द्रीय सर्भर डाउन भएपछि लाइसेन्स नवीकरण, राजस्व बुझाउने तथा अन्य सेवा लिन पुगेका सयौं सेवाग्राही दिनभर अलपत्र परेका छन्। नयाँ आर्थिक वर्षदेखि नवीकरणमा दोब्बर शुल्क लाग्ने व्यवस्था लागू हुने भएकाले समयमै काम सम्पन्न गर्न आएका सेवाग्राही थप चिन्तित बनेका छन्।

घोडाघोडी नगरपालिका–६ का रेवन्तबहादुर खड्का ६५ किलोमिटर टाढाबाट लाइसेन्स नवीकरण गर्न धनगढी पुगे पनि सर्भर नचल्दा काम नै हुन सकेन। सरकारले सहज सेवा दिनुपर्नेमा सर्भर समस्याका कारण सर्वसाधारणले अनावश्यक सास्ती भोग्नुपरेको उनले गुनासो गरे।
यस्तै, यादव फुलाराले बिहानदेखि लाइनमा बसेर पनि राजस्व बुझाउन नपाएको बताए। गोदावरी–अत्तरियाका कर्णबहादुर बोहराले टोकन लिएको दुई दिन बितिसक्दा पनि सेवा नपाएको, अत्यधिक गर्मी, बस्ने ठाउँको अभाव र अतिरिक्त खर्चले सेवाग्राही थप मारमा परेको बताए। धनगढीका त्रिलोचन शर्माले कर्मचारीको व्यवहारप्रति समेत असन्तुष्टि जनाउँदै कर तिर्न आउँदा पनि पटक–पटक कार्यालय धाउनुपरेको दुखेसो गरे।


विद्यार्थी कुमारबहादुर सार्की र नयाँ लाइसेन्सका सेवाग्राही विवेक मिश्रले पनि सर्भर समस्याका कारण सेवा अवरुद्ध हुँदा समय र आर्थिक दुवै नोक्सानी भएको बताए।
कार्यालय प्रमुख भुवन जोशीले नयाँ आर्थिक वर्षदेखि लागू हुने प्रणालीका लागि केन्द्रीय सर्भरमा डाटा व्यवस्थापन भइरहेको कारण शुक्रबारदेखि सेवा प्रभावित भएको बताए। समस्या समाधानका लागि आवश्यक समन्वय भइरहेको र सकेसम्म छिट्टै सेवा नियमित गर्ने प्रयास भइरहेको उनको भनाइ छ।
सरकारले डिजिटल सेवा विस्तारको दाबी गरिरहे पनि सामान्य कर तिर्न र लाइसेन्स नवीकरण गर्न आएका नागरिकले दिनौँसम्म सास्ती खेप्नुपरेको अवस्था देखिएको छ। प्रभावकारी सर्भर व्यवस्थापन, वैकल्पिक सेवा प्रणाली र सेवाग्राहीमैत्री वातावरण सुनिश्चित गर्न सम्बन्धित निकायले तत्काल कदम चाल्नुपर्ने आवश्यकता देखिएको छ।
































