सुदूरपश्चिमको बजेट विवाद सहमतिबाट टुंग्याउन मुख्यमन्त्री शाहलाई काँग्रेस पार्टी सभापति थापाको सुझाव

Image
Nisarga Hospital

अत्तरिया : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुदूरपश्चिम प्रदेश सरकारको बजेट विवादलाई सत्ता साझेदार नेकपा ९एमाले०सँग संवाद, सहमति र समन्वयमार्फत समाधान गर्न मुख्यमन्त्री कमलबहादुर शाहलाई सुझाव दिएका छन्।

CP Hospital Dhangadhi

बजेट विवादलगायतका विषयमा पार्टी नेतृत्वसँग छलफल गर्न काठमाडौं पुगेका मुख्यमन्त्री शाहसँगको भेटमा सभापति थापाले कांग्रेस–एमाले गठबन्धनको भावना अनुरूप अघि बढ्नुपर्नेमा जोड दिएका हुन्। उनले बजेटका विषयमा थप छलफल र परामर्श गर्दै दुवै दलको सहमतिका आधारमा समाधान खोज्न आग्रह गरेका छन्।

सुदूरपश्चिम प्रदेश सरकारले असार १ गते सार्वजनिक गरेको ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेटलाई लिएर सत्ता गठबन्धनभित्रै विवाद चुलिएको छ। बजेटप्रति असन्तुष्टि जनाउँदै एमालेले प्रदेश सभामा खर्च कटौतीको प्रस्तावसमेत दर्ता गरिसकेको छ भने बजेट पुनर्लेखन हुनुपर्ने अडान कायम राखेको छ।

nawajiwan
Attariya Hospital

यता, मुख्यमन्त्री शाहले बजेटसम्बन्धी विवाद समाधानका लागि कार्यदल गठन गर्न आफू तयार रहेको बताएका छन्। यद्यपि एमालेले कार्यदलभन्दा पनि बजेटमै संशोधन र पुनर्लेखन आवश्यक रहेको धारणा दोहोर्याउँदै आएको छ।

भेटका क्रममा सभापति थापाले गठबन्धन सरकारलाई प्रभावकारी बनाउन संवाद र राजनीतिक समन्वयलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए। उनले बजेट विवादलाई टकरावको विषय नबनाई सहमतिमार्फत टुंग्याउनुपर्ने धारणा राखेका छन्।

उक्त भेटमा नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा, सांसद दिवानसिंह विष्टलगायत नेताहरूको पनि सहभागिता रहेको थियो। भेटमा सुदूरपश्चिम प्रदेश सरकारको वर्तमान अवस्था, बजेट विवाद र कांग्रेस–एमाले गठबन्धनलाई थप गतिशील बनाउने विषयमा समेत विस्तृत छलफल भएको बताइएको छ।