
अत्तरिया: सुदूरपश्चिम प्रदेश राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, अत्तरियाले असार महिनाभर सञ्चालन गरेको ट्राफिक व्यवस्थापन तथा सडक सुरक्षा अभियान प्रभावकारी बनेको जनाएको छ। कार्यालयले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको प्रगति विवरणअनुसार ट्राफिक नियम उल्लङ्घन गर्ने ४ हजार ९११ सवारी चालकलाई कारबाही गर्दै ३६ लाख ५१ हजार ५०० रुपैयाँ जरिवाना संकलन गरिएको छ।

मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने ५७३ चालक कारबाहीमा परेका छन् भने उनीहरूबाट २ लाख ५५ हजार ५०० रुपैयाँ जरिवाना असुल गरिएको छ। दुई पटकभन्दा बढी मापसे गरेको पाइएका ८ चालकलाई थप कानुनी कारबाहीका लागि सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा पठाइएको छ।


सडक सुरक्षाप्रति जनचेतना बढाउन ५७० कार्यक्रम सञ्चालन गरी २२ हजार ६६६ जनालाई ट्राफिक शिक्षा प्रदान गरिएको कार्यालयले जनाएको छ। क्षमताभन्दा बढी भार बोकेका ११ मालवाहक सवारीलाई कारबाही गर्दै ६५ हजार रुपैयाँ जरिवाना गरिएको छ।
यस अवधिमा २०० सार्वजनिक सवारीमा CCTV जडान गरिएको, १५८ सवारीको यान्त्रिक परीक्षण गरिएको, २८ बेवारिसे मोटरसाइकल नियन्त्रणमा लिइएको तथा नम्बर प्लेट नभएका ४२० सवारीमा पुनः नम्बर प्लेट जडान गरिएको छ। साथै, २६ सवारीबाट अवैध हर्न र साइरन तथा २८२ सवारीबाट कालो सिसा हटाइएको छ।
सेवा प्रवाहलाई थप सहज बनाउन ट्राफिक प्रहरीको आचरण, दुर्घटना र सडकसम्बन्धी गुनासो तथा सूचना आदानप्रदानका लागि QR Code प्रणाली पनि सञ्चालनमा ल्याइएको कार्यालयले जनाएको छ।































