
कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले नयाँ नेतृत्व पाएको छ। बुधबार शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयमा बसेको विश्वविद्यालयको सिनेट बैठकले प्रा.डा. सुनिलकुमार जोशीलाई उपकुलपति तथा डा. भीम चन्दलाई रजिष्ट्रार नियुक्त गर्ने निर्णय गरेको हो।
प्रा.डा. जोशी यस विश्वविद्यालयका संस्थापक उपकुलपति समेत हुन्। उनले आफ्नो अघिल्लो कार्यकालमा विश्वविद्यालय सञ्चालनका लागि आवश्यक संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम), नौ वटा कानुन निर्माण तथा एमबीबीएससहित चिकित्सा शिक्षाका विभिन्न शैक्षिक कार्यक्रम सञ्चालनको आधार तयार पार्ने महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
काठमाडौं मेडिकल कलेजमा कम्युनिटी मेडिसिनका प्राध्यापक रहेका जोशीले विभिन्न विश्वविद्यालयमा भिजिटिङ प्रोफेसरका रूपमा पनि सेवा दिएका छन्। उनी स्वास्थ्य अनुसन्धान क्षेत्रमा समेत परिचित छन् र उनका अनुसन्धान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित छन्।
यस्तै, डा. भीम चन्द विश्वविद्यालयको रजिष्ट्रार नियुक्त भएका छन्। अस्पताल व्यवस्थापन (Hospital Management) मा विद्यावारिधि गरेका उनले काठमाडौं मेडिकल कलेजमा १६ वर्ष प्रशासन, लेखा तथा प्रशासकीय नेतृत्व सम्हालेका थिए। पछिल्ला १२ वर्षदेखि उनी पिपुल्स डेन्टल कलेजका प्रमुख कार्यकारी अधिकृत (सीईओ) थिए।
डा. चन्दले गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालयको स्थापना र पूर्वाधार विकासदेखि संस्थागत संरचना निर्माणसम्म विभिन्न चरणमा सक्रिय भूमिका खेलेका थिए। उनी यसअघि विश्वविद्यालयको कार्यकारी परिषद्का सदस्यसमेत रहिसकेका छन्।
गत वैशाखमा सरकारले अध्यादेशमार्फत सबै विश्वविद्यालयका पदाधिकारी पदमुक्त गरेपछि गठित सिफारिस समितिको सिफारिसका आधारमा यी नियुक्ति गरिएको हो। नयाँ नेतृत्वसँगै गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालयको शैक्षिक तथा संस्थागत विकासले थप गति लिने अपेक्षा गरिएको छ।































