
अत्तरियाः डडेल्धुराकी बन्दना लिम्बु करिब दुई वर्ष लामो उपचारपछि स्वास्थ्यमा उल्लेखनीय सुधारसँगै घर फर्किएकी छन्। सामान्य रूपमा साइकल सिक्ने क्रममा भएको दुर्घटनाले जीवन नै संकटमा परेकी बन्दनाको उपचार यात्रा अन्ततः सुखद मोडमा पुगेको हो।


बन्दना २०८१ साल साउन ३१ गते घर नजिकै साइकल सिक्ने क्रममा लडेर गम्भीर घाइते भएकी थिइन्। प्रारम्भिक उपचारका लागि डडेल्धुरा अस्पताल पुर्याइए पनि विशेषज्ञ उपचार आवश्यक भएपछि सोही दिन धनगढीस्थित निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरमा रिफर गरिएको थियो।
अस्पतालमा भर्ना भएको भोलिपल्ट नै उनको पहिलो शल्यक्रिया गरिएको थियो। त्यसपछि दुईवटा मेजरसहित आवश्यक माइनर शल्यक्रिया, सघन नर्सिङ सेवा, फिजियोथेरापी, पुनःस्थापना तथा विशेषज्ञ चिकित्सकको निरन्तर निगरानीमा उपचार गरिएको अस्पतालले जनाएको छ। बन्दनाले अस्पतालमै एक वर्ष ११ महिना एक दिन बिताएकी थिइन्।
स्वास्थ्यमा उल्लेखनीय सुधार आएपछि बिहीबार उनलाई डिस्चार्ज गरिएको हो। उपचारका क्रममा ठूलो आर्थिक भार थपिए पनि बिरामीको पारिवारिक तथा आर्थिक अवस्था विचार गर्दै अस्पतालले ३१ लाख ५७ हजार रुपैयाँ बाँकी उपचार खर्च पूर्ण रूपमा मिनाहा गरेको छ। अस्पतालले यो निर्णयलाई उदारता नभई स्वास्थ्य सेवाप्रतिको मानवीय दायित्व, सामाजिक उत्तरदायित्व र सेवामूलक प्रतिबद्धताको उदाहरण भएको जनाएको छ।
घर फर्किएपछि दैनिक जीवन सहज बनाउन अस्पतालले बन्दनालाई एक थान आरामदायी ह्विलचेयर पनि सहयोगस्वरूप प्रदान गरेको अस्पतालका अध्यक्ष तीर्थराज पन्तले जानकारी दिए।
बन्दनाको उपचारमा सामाजिक अभियान पनि प्रभावकारी बनेको थियो। ‘फारवेस्टर्न राइडर’का नामले परिचित भरतविक्रम शाहले अभियान सञ्चालन गरी करिब ६ लाख रुपैयाँ आर्थिक सहयोग जुटाएका थिए।
बन्दनाको घरफिर्तीले कठिन परिस्थितिमा पनि गुणस्तरीय उपचार, सामाजिक सहयोग र मानवीय सेवाभावले नयाँ जीवन दिन सक्छ भन्ने सन्देश दिएको छ।





























