आइसियु बेड नपाउँदा वृद्धको मृत्यु ! सेती अस्पतालको व्यवस्थापनमाथि गम्भीर प्रश्न

Image
Nisarga Hospital

अत्तरियाः धनगढी उपमहानगरपालिका–१९ फुलबारीका ७२ वर्षीय विष्णुप्रसाद थारुको सेती प्रादेशिक अस्पतालमा आइसियु (आईसीयू) शय्या नपाएको अवस्थामा मृत्यु भएपछि अस्पतालको सेवा, व्यवस्थापन र स्वास्थ्य पूर्वाधारमाथि गम्भीर प्रश्न उठेको छ। परिवारले समयमै आइसियु उपचार उपलब्ध नहुँदा ज्यान गएको आरोप लगाएको छ भने अस्पताल प्रशासनले बिरामीलाई अन्तिम अवस्थामा ल्याइएको र त्यसबेला सबै आइसियु शय्या भरिएका कारण भर्ना गर्न नसकिएको स्पष्ट पारेको छ।

CP Hospital Dhangadhi

परिवारका अनुसार दमको समस्या बल्झिएपछि असार ३१ गते साँझ थारुलाई धनगढीस्थित निजी अस्पताल लगिएको थियो। चिकित्सकले तत्काल आइसियुमा राख्नुपर्ने र प्रारम्भिक उपचारमै करिब एक लाख रुपैयाँ खर्च लाग्ने बताएपछि आर्थिक अभावका कारण उनीहरू सरकारी अस्पताल पुगेका थिए। तर सेती प्रादेशिक अस्पतालमा पनि आइसियु बेड उपलब्ध नभएपछि आकस्मिक कक्षमै उपचार भइरहँदा बिहीबार बिहान करिब ४ बजे उनको मृत्यु भएको परिवारको भनाइ छ।

मृतककी छोरी मनपतिदेवी चौधरीले बुबाको अन्तिम अवस्थाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गर्दै आर्थिक अवस्था कमजोर भएका नागरिकले समयमै उपचार नपाउँदा ज्यान गुमाउनुपर्ने अवस्था दुःखद भएको बताएकी छन्। उनले राज्य र अस्पताल व्यवस्थापनले यस्तो अवस्था दोहोरिन नदिने गरी स्वास्थ्य सेवा सुधार गर्नुपर्ने माग गरेकी छन्।

nawajiwan
Attariya Hospital

यता अस्पतालका सूचना अधिकारी किशोर श्रेष्ठले बिरामीलाई निजी अस्पतालबाट निकै गम्भीर अवस्थामा राति करिब १२ बजे ल्याइएको र त्यसबेला अस्पतालका १५ वटै आइसियु शय्या भरिएको जानकारी दिए। उनका अनुसार आइसियुमा रहेका सबै बिरामी जटिल अवस्थाका भएकाले तत्काल नयाँ शय्या उपलब्ध गराउन सम्भव नभए पनि आकस्मिक कक्षमा आवश्यक उपचार गरिएको थियो।

यस घटनाले सुदूरपश्चिम प्रदेशकै प्रमुख रेफरल अस्पतालको क्षमता र व्यवस्थापनमाथि पुनः बहस सुरु गराएको छ। सरकारी स्वीकृति केवल ५० शय्याको भए पनि सेती प्रादेशिक अस्पताल हाल करिब ३०० शय्यामा सञ्चालन भइरहेको छ। जनशक्ति, उपकरण र भौतिक पूर्वाधार विस्तार भए पनि बिरामीको अत्यधिक चापका कारण विशेषगरी आइसियुजस्ता अत्यावश्यक सेवामा अभाव देखिँदै आएको छ। स्वास्थ्य सेवा विस्तार, आइसियु क्षमता वृद्धि र प्रभावकारी व्यवस्थापन नगरे यस्ता दुःखद घटना दोहोरिन सक्ने भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्।

# ट्रेण्डिङ