
अत्तरियाः गोदावरी आविष्कार केन्द्र (GiC) को आयोजनामा केदार इन्टरनेशनल पब्लिक स्कुल, मालाखेतीमा नवौँ छुकछुके रोबोट निर्माण कार्यशाला–२०८३ सुरु भएको छ। श्रावण १५ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने चारदिने कार्यशालामा कक्षा ६ देखि ८ सम्मका ३० जना छनोट भएका विद्यार्थीहरू सहभागी भएका छन्।

विद्यालयका प्रधानाध्यापक लोक खत्री को नेतृत्व तथा सहयोगमा सञ्चालन भइरहेको यस कार्यशालाले विद्यार्थीहरूमा विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला तथा गणित (STEAM) शिक्षाप्रति रुचि बढाउने लक्ष्य राखेको छ। विद्यालयका प्रधानाध्यापक लोक खत्री एक गतिशील तथा दूरदर्शी शैक्षिक नेतृत्वकर्ता हुनुहुन्छ, जसको पहलमा विद्यालयमा नवप्रवर्तनात्मक तथा प्रयोगात्मक सिकाइलाई विशेष प्राथमिकता दिइँदै आएको छ।
कार्यशालामा सहभागी विद्यार्थीहरूले ३डी डिजाइन, मेकानिकल एसेम्बली, भर्नियर क्यालिपर प्रयोग, इलेक्ट्रोनिक सर्किट निर्माण, ESP8266 प्रोग्रामिङ तथा छुकछुके रोबोट निर्माण सम्बन्धी व्यावहारिक ज्ञान तथा सीप हासिल गर्नेछन्। कार्यक्रमको अन्तिम दिन विद्यार्थीहरूले तयार गरेका रोबोटहरूको प्रदर्शन तथा रोबोट फुटबल प्रतियोगिता समेत आयोजना गरिनेछ।


कार्यशालामा इन्जिनियर सम्राट भट्ट ले प्रशिक्षकको रूपमा सहजीकरण गरिरहनुभएको छ। उहाँले विद्यार्थीहरूलाई रोबोटिक्स, नवप्रवर्तन तथा समस्या समाधानका सीपहरू व्यवहारिक रूपमा सिकाइरहनुभएको छ।
गोदावरी आविष्कार केन्द्रका अनुसार यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूमा सिर्जनशीलता, तार्किक सोच, टोलीगत कार्यक्षमता तथा आत्मविश्वास विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ। केदार इन्टरनेशनल पब्लिक स्कुलमा सञ्चालन भइरहेको यो नवौँ कार्यशालाले विद्यार्थीहरूलाई भविष्यका वैज्ञानिक, इन्जिनियर तथा नवप्रवर्तक बन्न प्रेरित गर्ने अपेक्षा गरिएको छ।































